Odapalika - The Fourth Estate - चौथो अंग
दूधपोखरी गाउँपालिकाकोे दुःख : अनुदान लिनसमेत आउँदैनन् स्थानीय, सडकमा मात्र ध्यान 

लमजुुङको दुर्गम भेगमा छ दुधपोखरी गाउँपालिका । २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ ५ वटा गाउँ विकास समितिलाई मिलाएर दूधपोखरी गाउँपालिका बनाइएको हो । दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको थियो । दुर्गममा भएका कारण पालिकाभित्र न पर्याप्त कर्मचारी छन् न विकास निर्माणका लागि बजेट नै । अस्थिर कर्मचारीतन्त्र र टुक्रे विकासे आयोजनाको मारमा परेको दुधपोखरीले कृषि उद्यमका लागि गरेका पहलसमेत निरर्थक देखिन्छन् । यही सेरोफेरोकमा केन्द्रीत रहेर वडापालिकाकर्मी समुद्र घिमिरेले गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङसँग गरेको कुराकानी । 

पालिका प्रमुख बन्नुभएको डेढ वर्ष बित्यो, गाउँ रित्तिदै छन्, खेतबारी बाँझै छन्, यो अवस्था तोड्न सरकार प्रमुखका हैसियतमा के गर्दै हुनुहुन्छ ? 

हामीले बजेट बनाउनुभन्दा अघि टोल बस्तीमा गएर के के काम गर्नुपर्छ भनेर स्थानीयसँग सुझाव मागेका थियौँ । तर, सुझाव माग गर्दा हामी यो गर्छौ भनेर कुनै पनि आवाज आएन । अहिले हाम्रो पालिकाको सडकको अवस्था त्यति राम्रो छैन् । स्थानीयहरुको मुख्य काम नै बाटो बनाउने तथा स्तरोन्नति गर्ने थियो । 

सडक सञ्जाल बाहेक स्थानीयले कृषिको विषयमा खासै प्राथमिकतामा पारेकै छैनन् । हाम्रो पालिका चिया, ओखर र अलैँची खेतीका लागि उत्तम छ । तर उहाँहरुले यसमा कुनै चासो नै दिनुभएको छैन । पालिकाले यसका लागि अनुदान रकम समेत छुट्टाएको थियो, तर उहाँहरु कोही पनि अनुदान लिन आउनुभएन । 

हामीले कृषिमा अनुदान दिन्छौँ भनेर रकम विनियोजन गर्दा समेत स्थानीयहरु हामी गर्छौ भनेर आउन सक्नुभएन । स्थानीयको प्राथमिकतामा नै नपरेपछि कृषिको कार्यक्रमका लागि छुट्टाइएको बजेट फ्रिज हुने अवस्थामा छ । 

अहिले धेरै जग्गा जमिन बाँझो नै छ । हामीले बाझो जमिनमा खेती गर्नका लागि अनुदानको घोषणा गरेका छौँ, तर हामी गछौँ भनेर अहिलेसम्म कोही पनि आउनुभएको छैन । हामीले पटक पटक स्थानीय स्तरमा भन्दै आएका छौँ  । 

पालिकाले चिया र ओखर खेतीका लागि अनुदानमा विरुवा वितरण गर्ने घोषणा गरेको छ । दूधपोखरी गाउँपालिकामा केही किसानले चियाखेती गरेका पनि छन् । सुरुवाती चरणमा धेरै जमिनमा खेती गरेका कृषकले पछिल्लो समय चियासमेत नटिपेको पाइएको छ । 

अहिले हामीले सुरुवाती चरणका लागि कृषिमा अनुदान दिन थोरै रकम विनियोजन गरेका थियौँ, अहिलेको माग अनुसार अर्काे वर्ष बढाउने हाम्रो तयारी थियो । तर अहिलेसम्म कोही पनि नआएपछि कार्यक्रम नै रद्द हुने हो कि भन्ने शंका बढेको छ । 

गाउँवासीलाई परिवर्तनको अनुभूति दिलाउने किसिमका काम के–के भए, तपाईं निर्वाचित भएपश्चात् नगरभित्र भएका उपलब्धि के–के हुन् ?

अहिले हाम्रो पालिकाका स्थानीयले भोग्नुपरेको मुख्या समस्या भनेको नै सडक सञ्जाल हो । भौगोलिक विकटता छ, यहाँका हरेक मानिसको माग नै सडक बनाउनेमा छ ।  

स्थानीयको माग र आवश्यकता अनुसार हामीले अहिले पालिकाभित्रको सडकको अवस्थामा केही सुधार गरेका छौँ । ग्रामिण भेगका ग्राभेल सडक मर्मत गरेपनि बर्खाको समयमा आउने भेलले बगाएर पुरानै अवस्था बनाउँछ । 

कालोपत्रे गर्नसक्ने हाम्रो क्षमता छैन । प्रदेश र केन्द्रबाट हाम्रो पालिकामा थोरै योजना पर्दा सडक निर्माण गर्न सकिएको छैन । प्रदेश र केन्द्रबाट आएको रकमले अप्ठ्यारो स्थानको सडकमा ढलान तथा ग्राभेल गर्ने काम भएपनि हाम्रो पालिकाभित्र कालोपत्रे सडक निर्माण गर्न सकिएको छैन । 

म निर्वाचित भएपछि फोकस नै यातायात विस्तारलाई दिएको छु । अहिले पिटभञ्जानदेखि जोर्नेसम्मको बाटो गार्भेल, तथा ठाउँठाउँमा ढलान, बोरान खोलादेखि बिचौरसम्मको बाटो गार्भेल तथा अप्ठ्यारो भएको स्थानमा ढलान गर्ने काम भएका छन् । बर्खा समयमा पनि यातायातको सुविधा दिनेगरी हामीले काम गरिरहेका छौँ ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा भने हामीले धेरै कामहरु गरेका छौ । लमजुङका अन्य पालिकाभन्दा भुगोलका आधारमा ठूलो पालिका नै हाम्रो हो, तर बजेट हाम्रोमा नै थोरै आउछ ।

नीति तथा कार्यक्रममा समृद्धिको नारालाई प्राथमिकतामा राखेर पूर्वाधार विकासका कार्यक्रममा जोड दिनुभएको छ । तर बजेटका आयोजना हेर्दा टुक्रे कार्यक्रममा बजेट छरेको देखिन्छ । यस्तो खाले विकासे प्राथमिकताले समृद्धिको लक्ष्य भेट्नुहोला र ? 

समाजमा विभिन्न किसिमका मानिसहरुको बसोबास छ । मैले बजेट बनाउने बेलामा नै परिणाम देखिने खालको बजेट बनाऔँ, ससाना टुक्रे योजनाका लागि रकम नछुट्याउँ भनेको थिए । तर, कार्यपालिकाले नै यस्तो गर्न दिएन । स्थानीयका मागलाई सम्बोधन गर्ने भन्दा योजना टुक्रियो ।

वडाअध्यक्ष मार्फत केही टुक्रे योजना दिएर आवश्यकता पूरा गर्ने र पालिकाले महत्वपूर्ण देखिने खालको योजना बनाउने निर्णय भयो । हामीले प्रदेश र केन्द्र सरकारसँग समपुरक बजेट माग गर्ने अथवा विशेष अनुदान मार्फत आएको रकम प्रयोग गर्ने गरी काम गरेका हौँ ।

रैथाने बालीको प्रर्वद्धनको नीति छ । यो भनेको के हो ? कसरी गर्दै हुनुहुन्छ ती बालीको प्रर्वद्धन ?

रैथाने बालीको प्रवद्र्धनमा अहिले धेरै समस्या देखिएको छ । गत वर्षपनि सुरुवात गर्ने भनिएको थियो, तर भएन । यस वर्ष गर्ने गरी हामीले तयारी थालेका थियौँ, तर सुरुवात गर्न सकिएन । रैथाने बाली प्रवद्र्धनको कार्यक्रम लागू गर्न नसक्नुको मुख्य कारण अस्थिर प्रमुख प्रशासकीय अधिकृत नियुक्तिले नै हो । 

दुर्गमको पालिका भएका कारण यहाँ कुनै पनि कार्यकारीले पूरा कार्यकाल विताउनु नै भएको छैन । ३ महिनादेखि ६ महिनाका लागि आएका कार्यकारीका कारण कार्यक्रम लागू गर्न सहयोग नै पुगेन । दुर्गम तथा सरकार परिवर्तनको मुख्य कारण दूधपोखरी गाउँपालिकाले कार्यकारी प्रमुख टिक्नै नसकेको मेरो बुझाइ छ । 

सामाजिक रुपान्तरण र सामाजिक सुरक्षामा पनि स्थानीय सरकारहरुले उल्लेख्य लगानी गरेका छन्, तर लक्षित वर्गसम्म पुगेन भन्ने गुनासो छ । तपाइँको पालिकामा यसको व्यवस्थापन र परिचालन कसरी गरिरहनु भएको छ ? 

हाम्रो पालिकामा जनजातिको बसोबार अन्यको तुलनामा धेरै छ । अझ भन्ने हो भने दलितलाई हामीले मुख्य प्राथमिकतामा राखेका छौँ । 

हामीले उहाँहरुलाई योजना पेश गर्नुुस् पालिकाले त्यही अनुसारको बजेट विनियोजन गर्छ भनेर जानकारी गराउने गरेका छाँै । हरेक वडाबाट निर्वाचित हुनुभएको महिना दलित सदस्यमार्फत हामीले दलितहरुका लागि केही कार्यक्रम गर्ने योजना बनाएका थियौँ । 

आयआर्जनका लागि दलितहरुलाई बाख्रा, कुखुरापालन, आरन व्यवसाय लगायतमा हामीले केही सहयोग गरेका छौँ । पालिकाले यसलाई निरन्तरता दिने निर्णय गरेको छ । 

तर, वितरणमा केही समस्या छ । बाख्रा तथा कुखुरा पालनका लागि दिइएको बाख्राबाट भएका उत्पादनहरु सबै बिक्री गर्दा अर्काे वर्ष पुनः वितरण गर्नुपर्ने अवस्था देखिएको छ । यसले गर्दा केही समस्या देखिएको छ । यसको उचित व्यवस्थापनका लागि हामीले थप के गर्ने भन्ने विषयमा छलफल गर्न बाँकी नै छ । 

हाम्रो आन्तरिक स्रोत खासै छैन । आन्तरिक स्रोत नहुँदा हामीले आफ्नो ढंगले बजेट बनाउने तथा नयाँ योजनाहरु बनाउन सकेका छैनौँ । 

आन्तरिक आम्दानी बढाउने तर्फ केही गर्नुभएको छैन ? 

हामीकहाँ बजार नै छैन । जनतालाई कर बढायो भने विरोध हुन्छ । कर लगाएर आयस्रोत बढाउने हो, हामीले त्यो गरेका छैनाँै । सामान्य रुपमा सिफारिसका लागि मात्र न्यून कर लिने गरेका छौँ । 

हामीकहाँ ठूला हाइड्रो तथा उद्योग व्यवसाय छैनन । भरखर एउटा हाइड्रो निर्माणाधीन अवस्थामा छ । त्यो बाहेक अन्यमा कर लगाउने अवस्था हामीकहाँ छैन । 

अहिले पालिकामा पर्याप्त कर्मचारीहरु छन् त ?

हाम्रो पालिकाको अर्काे मुख्य समस्या कर्मचारीको हो । पालिकामा केही कर्मचारी भएपनि वडा सचिव हामी कहाँ छैनन् भन्दा पनि हुन्छ । प्रदेश र केन्द्रमा जति भनेपनि वडा सचिव नपाएपछि हामीले स्वास्थ्य शाखाका कर्मचारीहरुलाई वडा सचिव बनाएका छौँ । 

अस्थाई कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिन नमिल्ने रहेछ । त्यसो हुँदा हामीले आन्तरिक रुपमा स्वास्थ्य तथा पशु शाखाका कर्मचारीलाई वडाको जिम्मा लगाएका हौँ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update