Odapalika - The Fourth Estate - चौथो अंग
युुवा संघ र मेडिकल व्यसायी प्रसाईंको प्रदर्शन : सुनसान सडक, प्रहरीको बाक्लो उपस्थिति

काठमाडौँ । एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनका कारण बिहीबार बिहानैदेखि उपत्यकाको सडक सुनसान देखिएका छन् । अन्य समयमा कार्यालय समयमा भिडसँगै जाम हुने उपत्यकाका अधिकाशं स्थानमा बिहीबार बिहानैदेखि सुनसा नबनेको हो । 

दुई संस्थाको प्रदर्शनीलाई लिएर उपत्यका ट्राफिक प्रहरीले बुधबार साँझ नै अतिआवश्क बाहेक सवारी साधन लिएर बाहिर ननिस्कन गरेको आग्रहका कारण बिहीबार सडक सुनसान जस्तै बनेको हो । आजको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा व्यवस्था समेत कडा बनाएको छ । 

निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् भने अन्य स्थानमा समेत प्रहरीहरु तैनाथ रहेका छन् । 

तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन् । मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु तैनाथ छन् ।

तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन् ।

प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । दुवैको कार्यक्रमस्थलमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

उपत्यकाको सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति फिल्डमै खटाइएको छ भने सेनासहितको संयुक्त सुरक्षा संयन्त्रलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अपरेसन कमान्डका रूपमा खडा गरिएको छ ।

आजको प्रदर्शनीमा करिब १० हजार प्रहरी सुरक्षाका लागि तैनाथ भएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update