Odapalika - The Fourth Estate - चौथो अंग
विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति 

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । 

गाउँपालिकामा रहेकोे श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति दिने निर्णय गरेको छ  ।

रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय खुलेसँगै बालीविज्ञान कक्षा सञ्चालन हँुदै आएको छ । ८ वटा वडाका २ जनका दरले १६ जना विद्यार्थीलाई बालीविज्ञान अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्ति दिने भएको हो । 

बहुप्राविधिक शिक्षालयमा तीन वर्षे डिप्लोमा इन एग्रिकल्चरमा अध्ययन गर्नेलाई छात्रवृत्तिका लागि निवेदन दिन पालिकाले सूचना जारी गरेको छ । 

गाउँपालिका शिक्षा शाखा प्रमुख दानबहादुर भट्टराईका अनुसार छात्रवृत्ति प्रदान गर्ने विषयमा गाउँकार्यपालिका र शिक्षा समितिले निर्णय गरिसकेको छ भने छात्रवृत्तिका लागि आवेदनसमेत माग गरिएको छ । गाउँपालिकाका अनुसार छात्रवृत्ति पाउन एसइई परीक्षामा कम्तीमा १.६ जिपिए ल्याएको हुनुपर्नेछ । 

पालिकामा शिक्षालय सञ्चालनमा रहेकाले स्थानीयस्तरमा नै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । 

छात्रवृत्तिका लागि परेका आवेदनमा जेहेन्दार र विपन्नलाई प्राथमिकता दिइनेछ । पालिकाले भोजपुर बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्ति उपलब्ध गराइरहेको  छ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ मानेभञ्ज्याङको आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको हो । 

भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार ८०० लागतमा शिक्षालय निर्माण भएको थियो । ५५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको प्राविधिक शिक्षालयलाई पूर्वराष्ट्रपति भण्डारीले ३७ रोपनी र उनका परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गरिसकेका छन् ।    

शिक्षालयमा एकेडेमिक भवनका साथै छात्राबास, कर्मचारी आवास गृह, कम्प्युटर ल्याब, प्रयोगात्मक भवन पनि निर्माण गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update