Odapalika - The Fourth Estate - चौथो अंग
भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती 

काठमाडौँ । गत आइतवार भएको फाइनलमा प्रतियोगितकै अभिजित टीम भारतलाई हराउँदै अष्ट्रेलियाले क्रिकेट विश्वकप उपाधि उचाल्यो । क्रिकेट पण्डितहरुले यो खेललाई आ–आफ्नै कोणबाट व्याख्या गरे । 

तर भारतीय संचारमाध्यमदेखि राजनीतिक दलका नेताहरु भने यो खेलको सन्दर्भ जोडेर एउटा शव्दमा अल्झिएर राजनीतिक रोटी सेकाइरहेका छन् । 

शव्द हो ‘पनौती’ । भारतले खेल हारेपछि कांग्रेसआइका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी खेल हेर्न गएका कारण पनौती लागेर भारत हारेको आशयको भाषण गरे । यो भाषणपछि भारतका राजनीतिज्ञ एक अर्कामाथि पनौती शव्द प्रयोग गरेर गाली गलौचमा उत्रिएका छन् । 

तर रमाइलो चैँ कहाँनेर छ भने यही शव्दका कारण नेपालको काभ्रेपलान्चोक जिल्लामा पर्ने पनौती नगरपालिकास्थित पनौती बजार अहिले चर्चामा छ । 

पनौती किन चर्चामा छ भनेर बुझ्न भारतीय चर्चित पत्रकार (जो इन्डिया टुटेका पूर्वसम्पादक हुन्)ले बुधवार आफ्नो युट्युव च्यालन ‘रविस कुमार’ मा प्रशारित गरेको एउटा भिडियो रिपोर्ट हेर्नुपर्छ । 

जहाँ उनले भारतका राजनीतिज्ञले पनौती शव्दलाई कसरी अपव्याख्या गर्दैछन् भन्ने विषय मात्र होइन, नेपालको पनौती बजारको गज्जव प्रचारप्रसार गरेका छन् । 

बजारको बीचमा रहेको शिवमन्दिर, नेवारी सभ्यता, पुरानो शहर, १२ वर्षे मेला लाग्ने ऐतिहासिक र पवित्र धार्मिक स्थल पनौतीको प्रचारमा स्थानीय सरकारले समेत गर्न नसेको प्रयास रविस कुमारको एउटा भिडियोले गज्जवले गरेको छ । 

अहिलेलाई यो सन्दर्भ छाडेर पहिला पनौती शव्द कसरी विवादमा पर्दैछ भारतमा भन्ने सन्दर्भतिर लागौं । 

भारतीय संचारमाध्यमहरुमा आएका रिपोर्टअनुसार, भारतको राजनीति पछिल्लो समय शब्दको पछि लागेको छ । किनकि यहाँका ५ राज्यमा विधानसभाको चुनाव अन्तिम चरणमा छ । नेताहरु चुनाव जित्न पनौतीमात्र होइन ‘मूर्खको सरदार’ र ‘आरएसएसको अन्डरवेयर’देखि ‘खाकी चड्डी’ सम्मका शब्दहरू प्रयोग गरिरहेका छन् । 

अहिले राजनीतिक भाषणमा कांग्रेस आइका नेता राहुल गान्धीले प्रयोग गरेको ‘पनौती’ शब्दमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अड्किएको छ । भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई संकेत गरेर राहुल गान्धीले प्रयोग गरेको शब्दलाई लिएर अहिले कांग्रेसमाथि ‘पप्पु’, ‘मुर्खोका सरदार’, ‘राहुकाल’ जस्ता शब्द प्रयोग गरिरहेको छ ।

कांग्रेस प्रवक्ता पवन खेडाले त भारतीय जनता पार्टीका नेताहरूले कांग्रेसका नेताहरूलाई राहुकाललगायतका पप्पु र मुर्खको सरदार जस्ता शब्द प्रयोग गरेर भाषाको इज्जत लुटेको औपचारिक प्रतिक्रिया नै दिन भ्याए ।

पनौतीको प्रसंगअघि अझै भारतीय राजनीतिमा ‘हेट स्पिच’को सन्दर्भ हेरौँ । 

चुनावी दौरान कांग्रेस नेता पी रेवन्त रेड्डीले असदुद्दीन ओवैसीलाई शेरवानी मुनी खाकी सर्ट लगाएको बताए । यो भनाइपछि ओवैसीले रेड्डीलाई आरएसएसको अन्डरवेयर लगाएरलाठी प्रयोग गरेको बताए ।

भारतीय राजनीतिमा यस्तो भाषा प्रयोग भएको यो पहिलो पटक नभएको राजनीतिक विज्ञहरू बताउँछन् । यसअघि पनि राजनीतिक मञ्च र विभिन्न कार्यक्रममा धेरै कठोर शब्दको प्रयोग भइसकेको छ । 

उत्तर प्रदेशमा चुनावको समयमा मुलायम सिंहका लागि मुल्ला मुलायम जस्ता शब्दहरू प्रयोग गरिएको थियो । त्यसैगरी नेताहरूका लागि जोकर जस्ता शब्दहरू पनि खुलेर प्रयोग हुन थाले । 

भारतका वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक रमेश शाक्यको निष्कर्ष सापटी लिएर भन्ने हो भने– भारतीय जनता पार्टी र कांग्रेसका नेतालगायतका राजनीतिक दलका नेताहरूले यस्तो शब्द छनोट गरिरहेका छन्, जुन भन्न गाह्रो छ । र बोल्न पनि । 

यो त भयो भारतको प्रसंग । 

नेपालका राजनीतिज्ञ पनि यो मामिलामा कम छैनन् । यो आलेख तयार पारिरहँदा व्यवसायी दुर्गा प्रसाइँको अभियान समर्थक र एमाले निकट युवासंघका कार्यकर्ताबीच बल्खुमा ढुंगा हानाहान जारी छ । 

युवा संघ र प्रसाईंका अभियन्ताले बेग्लावेग्लै प्रदर्शन गरिरहँदा यो आन्दोलनको पृष्ठभूमि के थियो भनेर यहाँ उल्लेख गर्दा लामो हुनेछ । 

तर, यति चैँ उल्लेख गर्नैैपर्छ– प्रसाइलाई खुइल्याउन एमाले नेता महेश बस्नेतले रिपोर्टस क्लवमा उभिएर प्रसाईंको मानसिक सन्तुलन ठीक नभएको घोषणा नै गरे । उनले प्रसाईंकै ज्वाइ र भान्जाको हवाला दिएर मानसिक सन्तुलन ठीक नभएको भन्दै आफूलाई चिकित्सकको लाइनमा उभ्याए ।  

प्रसाईं झन के कम । जवाफमा बस्नेतलाई उनको घरमै गएर उठाइदिने मात्र बताएनन्, एउटै चेकमा बस्नेतका सबै सम्पत्ति किनिदिने ध्वाँस पनि पोखे, सामाजिक संजालमार्फत । 

त्यसो त हेट स्पिचमा महेश बस्नेतका गुरु हुन् उनका अध्यक्ष केपी ओली । गत स्थानीय तह निर्वाचनको प्रचारका क्रममा ६ चैत २०७८ मा इलाम पुगेर ओलीले तत्कालीन ५ दलीय गठवन्धन आवद्ध दलका नेतालाई गिद्ध भनिदिए । माधव नेपाल र झलनाथ खनालहरुलाई स्याल भन्न भ्याए । 

‘एउटा गिद्ध घरको धुरीमा बस्यो भने पूजाआजा गर्छन् । यहाँ त पाँच–पाँचवटा गिद्ध छन् । अनि देशमा भलो हुन्छ ?’ इलाममा ओलीवाणी थियो त्यसवेला ।

ओलीको यो बाणीको एकसाता अघि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुली पुगेर आफ्नो पार्टीलाई सिंह र अरूलाई भेडासँग तुलना गर्दै भनेका थिए, ‘सिंह र भेडाको कथा जस्तो । भेडासँग हिँड्दाहिँड्दा हामी पनि भ्याभ्या गर्ने जस्तो भा’छौँ । हुन त हामी सिंह गर्जिनुपर्ने हो माओवादी त, तर, १०–१५ वटा भेडाहरूसँग हिँड्दा भ्याभ्या गर्न थालियो ।’

चुनावताका मन्त्रीकै हैसियतमा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले त केपी ओलीलाई महाभारतको दुर्योधनसम्म भन्न भ्याए । 

छोटो बोल्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसमेत यही चुनावी अभियानमा एमालेका नेता भीम रावलको दिमाग खुस्किएकोसम्म भन्न भ्याए । 

नेपाल र भारतका नेताहरुलाई देखेर दिक्क हुनुअघि नै सामाजिक संस्कार सिद्धान्तका प्रतित्पादक लेभ सिम्यानोभिच भाइगस्कीले प्रतिपादन गरेको एक सिद्धान्तले भाषा र संस्कारको सम्बन्ध देखाउँछ भनिसकेको हो ।

भाइगस्कीको सिद्धान्तले भन्छ– भाषा अनुसारको विचार हुन्छ । विचारले व्यवहार तय गर्छ । व्यवहार अनुसारको परिचय हुन्छ । परिचय जस्तो छ, त्यस्तै समाज बन्छ । र, समाज अनुसारको संस्कार हुन्छ । भाइगस्कीको सिद्धान्त अनुसार दुर्गा वा महेशसँग उनीहरुको भाषा अनुसारको विचार छ । त्यही विचार अनुसारको व्यवहार छ । त्यो व्यवहार अनुसारको उनीहरुको परिचय छ । उनीहरुले आफ्नो परिचय अनुसारको समाज बनाउँछन् । समाज अनुसारको सस्कार त हुने नै भयो ।

सत्य यही होइन त नेताज्यू !

भलै, नेपालका नेताले राजनीतिक रोटी सेक्न प्रयोग गरेको भाषाले कुनै ठाउँ विशेष चर्चित बन्ने सकेनन्÷सकेका छैनन् । तर भारतीय नेताहरुले प्रयोग गरेको शव्दलाई रविस कुमारले व्याख्या गरेपछि भने नेपालको पनौती बजारको राम्रै ब्राण्डिङ हुँदैछ । 

र, कुरा पनौतीका 

वल्र्ड फोटोज अफ नेपाल अनलाइनमा सुनिल उलकले उल्लेख गरेअनुसार इसापूर्व १०८२ देखि नै पनौती गाउँको विकास भोट जाने बेला बास बस्न थालेर बनेको भनिन्छ । 

यो शहर तीन वटा नदी लिलावती (रोशमती), पूण्यमती र अदृश्य इन्द्रावतीको त्रिवेणीमा बनेको सानो गाउँ हो । त्यसैले यो ठाउँलाई उत्तर प्रयाग पनि भन्ने गरिन्छ । गंगा जमुना तथा अदृश्य सरस्वतीको त्रिवेणीलाई प्रयाग भनिन्छ भने यस संगमलाई उत्तर प्रयाग भन्ने गरिन्छ ।

पनौतीको इन्द्रेश्वर महादेवको मन्दिर राजा जयादित्य मल्लको विधवा रानी भिरम्मादेवीले १३५१ सालतिरै स्थापना गरेको इतिहासमा भेटिन्छ ।

पनौतीको उत्तर प्रयागको संगममा हरेक १२ वर्षमा मकर मेला लाग्ने गर्दछ । भारतमा पनि कुम्भ संक्रान्तिको दिनमा कुम्भ मेला लाग्ने गर्दछ । यो कुम्भ मेला पनि हरेक १२ वर्षमा लाग्ने गर्छ । तर, तिनै भारतीय राजनीतिकर्मीहरु पवित्र धार्मिक स्थलसमेत रहेको नेपालको पनौतीलाई गालीको बिम्बका रुपमा प्रयोग गर्दैछन् । 

नेपालको पनौती, भारतको पनौती 

नेपालमा काभ्रे जिल्लामा बाहेक पनौती भन्ने स्थान छैन । जवकि स्थानीय तह नै एउटै नाममा एकभन्दा धेरै छन् हाम्रोमा । नेपाली शव्द कोषले पनौती शव्दलाई काभ्रेको एक स्थानमात्र भन्दैन, पानी प्रसस्त हुने ठाउँ र सिमसार भूमि पनि भन्छ । 

नेपालको यही पवित्र भूमिलाई भारतका टेलिभिजनदेखि चलचित्रका गीतमा समेत ‘लोदर लाग्दो’ आशयमा प्रयोग गरिदै आइएको छ । 

रविस कुमारको रिपोर्टअनुसार भारतमा पहिलोपटक टेलिभिजन सिरियल ‘तारक मेहताका उल्टा चस्मा’मा जेठालाल नामका पात्रले आफ्नो मोवाइलमा पनौती नाममा एउटा नम्बर सेभ गरेर राखेको प्रसंग छ । यही प्रसंगबाट भारतीयका घरघरमा पनौती शव्द प्रख्यात भयो । 

अक्षय कुमारको फिल्म ‘खट्ठा मिठ्ठा’मा अक्षय कुमारलाई हास्य कलाकार जोनी लिभरले पनौती भन्छन् । एउटा रोलरमा अक्षय चढ्ने वित्तिकै बन्द भएपछि उनले अक्षयलाई पनौती भनिदिए । 

अक्षय कुमारकै अर्को फिल्म हाउसफुलको एउटा गीतमा समेत पनौती शव्दको प्रयोग छ भने हंगामा फिल्ममा समेत परेश रावलले आफ्नी पत्नीलाई पनौती भनेको सन्दर्भ भिडियो रिपोर्टमा रविस कुमारले उल्लेख गरेका छन् । 

नेपालमा नगरपालिकाको नाम पनौती छ । तर अक्सर नेपालका युवाले तास खेल्दा मात्र पनौती शव्दको प्रयोग गर्ने गरेका छन् । जव दाउ पर्दैन, खेलाडीले पैसा हार्दै जान्छ तब उसको मुखबाट अक्सर निस्कन्छ– हैट ! पनौती लाग्यो आज । 

फेरि सम्झाउँ, नेपाली शव्दकोषमा भने पनौती शव्दको अर्थ छ– काठमाडौँ उपत्यकापूर्वको बनेपानिकट बाह्रवर्षे मेला लाग्ने ठाउँ, काभ्रेपलान्चोक जिल्लामा रहेको एक नगरपालिका, पानी प्रसस्त हुने ठाउँ, सिमसार भूमि । 

क्रिकेटको हारले भारतको राजनीति तताएको शव्द पनौतीले हाम्रो सुन्दर शहर पनौतीलाई चिनाउने काम गरिदिएकोमा पत्रकार रविस कुमारलाई धन्यवाद भन्दै गर्दा हाम्रा पनौतीका मेयरसावलाई पनि सम्झौँ न एकपटक है !

साँची भारतको राजनीतिले ब्राण्डिङ गरिदिएको पनौतीको विकास र प्रचारमा के गर्दै हुनुहुन्छ मेयर रामशरण भण्डारी जी ?

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update