Odapalika - The Fourth Estate - चौथो अंग
भ्यू टावर अनुमतिमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध  मुद्धा

काठमाडौँ । सामुदायिक वन भित्र लजसहितको भ्यू टावर निर्माणको अनुमति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर ईलाकामा १६ कोठाको जलसहित भ्यू टावर निर्माणको सहमति दिएको भन्दै निकुञ्ज सहित खैरहनी नगरपालिका र सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायतको आरोप छ ।

अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहाका तत्कालिन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सव इञ्जिनियर सुमन श्रेष्ठमाथि ३१ लाख ५९ हजार बिगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

यस्तैगरी, वन कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष हिरा बहादुर गुरुङ विरुद्ध १ करोड १९ लाख, उपभोक्ता समितिका कोषाध्यक्ष सम्भु जिसी भनिने समर बहाखुर घर्ती क्षेत्री विरुद्ध ८९ लाख, उपभोक्ता समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठ र कोषाध्यक्ष उज्वल बर्ताेला विरुद्ध १३ लाख ३१ हजार, बुढी रात्ति उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडेरिया विरुद्ध ७८ हजार र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सिता दाहाल भनिने ठण्डा कुमारी दाहाल र सचिव कल्याण लटौला विरुद्ध ३५ लाख ५० हजार रुपैयाँ विगो दाबी गरी मुद्धा दर्ता गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update