Odapalika - The Fourth Estate - चौथो अंग
त्रिविको जीर्ण भवन भत्काउने काठमाडौँ महानगरको निर्णय

काठमाडौँ । बसन्तपुर डवलीको दक्षिणतर्फ रहेको भवन जीर्ण भएकोले भत्काउन शिफारिस गरिएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन शिफारिस गरेको हो । 

११ फागुन, २०७९ मा बसेको महानगरपालिकाको १३औँ कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो ।

समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडा नं. ५ हाँडीगाउँमा रहेको कि. नं. ५७० को जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो । 

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन समिति गठन गरिएको हो । 

यो व्यवस्थाबमोजिम कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, दर्तावाला निकायको केन्द्रीय निकाय र शिफारिस समितिको शिफारिसका आधारमा मन्त्रालयले माग गर्ने सरकारी निकायलाई जग्गा उपयोग गर्न स्वीकृति दिन सक्नेछ । 

यो व्यवस्थाबमोजिम समितिका संयोजक डंगोलले २०८० भदौ १२ गते त्रिवि उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाकातर्फबाट केन्द्रीय समिति गठन गर्न र संयुक्त बैठकको वातावरण मिलाउन अनुरोध गरेका थिए । 

जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर कार्तिक १९ गते वडामा निवेदन बुझाएका थिए । 

भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इञ्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इञ्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समितिले बनाएको प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ । 

पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलिः आदि मक्किएको देखिएको उल्लेख छ । 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो । 

बैठकमा समितिकी संयोजक डंगोलले, जोखिम हटाउने कामलाई प्राथमिकतामा राखेर जग्गा प्राप्त गर्ने प्रक्रियालाई निरन्तरता दिइने बताइन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update