Odapalika - The Fourth Estate - चौथो अंग
छायाँनाथ रारामा नगर बस सञ्चालन, आधा सस्तियो गाडी भाडा 

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ ।

बिहीबारबाट छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्रसदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका–१४ बामा गाँउसम्म २२ किलोमिटर दूरीको रुटमा दुई बस सञ्चालनमा ल्याएर सो सेवाको सुरुवात गरेको हो । 

नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट  ८ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ । नगरबस सेवा सञ्चालन गर्नपालिकाले ८४ लाख रुपैयाँमा २ वटा बस खरिद गरेको छ ।

छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्ति मध्ये दुई बस्तिमा सडक पुगेको छैन । अन्यमा सडक पुगेपनि स्थानीयले निकै महंगो भाडादरमा यात्रा गर्न बाध्य बनेका थिए । नगर बस सञ्चालनमा ल्याएसँगै चर्को भाडादरको सास्तीबाट केही राहत पुग्ने स्थानीयले बताए । 

यसअछि जिपहरुले गमगढी देखी बाम गाँउसम्मको एकतर्फी भाडा नै प्रतिव्यक्ति ६०० रुपैयाँ लिने गरेको स्थानीयले बताए । नगरबसले भाडादर आधा गरेको छ । अब स्थानीयले गमगढीदेखि बाम गाँउसम्मको एकतर्फी यात्रा गर्दा ३०० रुपैयाँ मात्र तिर्नुपर्ने तथा अपाङ्ग भएकाहरुले कार्यविधि अनुसार छुट पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए । 

उनले भने, ‘पालिकाले आफ्नो सेवा मार्फत प्रति ब्यक्ति ३०० र अपाङ्गता भएका ब्यक्ति तथा जेष्ठ नागरिकहरुलाई नगरबस संचालन कार्यविधि अनुसार भाडामा छुट दिने व्यवस्था गरेको छ । यसले स्थानीयले खेप्दै आएको यातायात सास्ती कम हुने ठानेका छौं ।’

Photos (5)1700802644.JPG

नगरबस सञ्चालनमा आएसँगै छाँयानाथ रारा नगरपालिका१३ र १४ वडाका सर्वसाधरण हर्षित भएका छन् ।आफनो गाँउबाट सदरमुकाम जान आउजाउको १ हजार २०० रुपैयाँ भाडा तिर्दै आएका थिए ।  नगरबस संचालनमा आएपछि दुई तर्फी यात्रा ६०० रुपैयाँमा गर्न पाउँदा दङ्ग छन् छायाँनाथ –१४ का स्थानीय तिलक बुढा । 

उनले भने, ‘पहिला १ हजार २ भाडा तिर्नुपर्थ्यो,अब ६ सयमा सदरमुकाम आउजाउ गर्न पाइने भयो । यतिमात्रै होइन गाँउमा उत्पादितस्याउ ,तरकारी बेचेर  केही आम्दानी भएको रकम बचाएर घर ल्याउन सकिने भइयो ।’

अझै नगरपालिकाले भाडामा केही सहुलियतगरे सबैभन्दा बढी स्थानीय महिलालाई राहत हुने धारणा छाँयानाथ–१३ की सरस्वती रावतले राखिन् । 

नगरबस सञ्चालनमा आएसँगै मुगु र छिमेकी जिल्ला हुम्ला जिल्लाका स्थानिय समेतलाभान्वित हुने संघीय सांसद ऐन बहादुर शाहीले बताए ।

‘यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो । नगरबस सञ्चालनले मुगुका सर्वसाधरणमात्र नभई हुम्ला जिल्लाका स्थानीयले समेत सेवा पाउने भएका छन । छाँयानाथ रारा नगरपालिका स्थानीयलाई नगर यातायात सेवा दिने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ’ सांसद शाहीले भने । 

नगर प्रमुख बिष्णुकुमार भामले आफ्नो चुनावी नारामा नगरबासीलाई  सहज यातायात पहुँचका लागि  पहल गर्ने प्रतिवद्धता अनुसार काम गरेको बताए । 

पाँच बर्षे कार्यकालमा चार वटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो चरणमा दुई वटा बस सञ्चालनमा ल्याएको र अझै २ वटा थप गर्ने उनले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update