Odapalika - The Fourth Estate - चौथो अंग
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन ठप्प, चार महिनादेखि प्राध्यापकले पाएनन तलव

काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै  विरोधमा उत्रिएपछि १५ दिनदेखि  पठनपाठन ठप्प भएको हो । 

बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भने, “प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् । ” 

उनका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन  ठप्प छ ।  । अध्यक्ष सापकोटाले भने, “प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ  ।” 

प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै  पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ । 

प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताए। प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update