Odapalika - The Fourth Estate - चौथो अंग
रकम भुक्तानीको सहमतिपछि बल्ल खुुले विष्णुुपुर गाउँपालिकाका विद्यालय 

काठमाडाैँ । शिक्षकको तलब भुक्तानी गर्ने सहमतिपछि विष्णुपुर गाउँपालिकाका विद्यालयमा साउनदेखि लगाइएको ताला खुुलेको छ । 

गत साउनदेखि पालिकाभित्र सञ्चालित १८ वटा विद्यालयका शिक्षक तथा कर्मचारीले सेवा सुविधा पाएका थिएनन् । लामो समयदेखि सेवा सुविधा नपाएको भन्दै शिक्षकहरुले संघर्ष समिति नै बनाएर बिहीबार सबै विद्यालयमा ताला लगाएका थिए । 

पालिकाभित्र रहेका ५ माध्यमिक विद्यालय र १३ वटा आधारभूत विद्यालयमा शुक्रबार बिहानैबाट नियमित पठनपाठन सुरु भएको पालिकाले जनाएको छ । 

विष्णुपुर गाउँपालिकाका सूचना अधिकारी राम लखन मेहताले बिहीबार साँझ भएको सहमति अनुसार आजदेखि विद्यालयमा पठनपाठन सुरु भएको जानकारी दिए । 

‘गत साउनदेखि सबै विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सेवासुविधा रोकिएको थियो, तलव नपाएको भन्दै उहाँहरुले बिहीबार सबै विद्यालय बन्द गर्नुभएको थियो,’ उनले भने, ‘विद्यालय बन्द भएपछि पालिकाले साँझ नै आन्दोलनरत शिक्षकसँग यथासिघ्र रकम भुक्तानी गर्ने सहमति गरेको थियो, सहमति अनुसार आज पठनपाठन सुरु भएको छ ।’ 

उनले जनिसक्दो छिटो भुक्तानी गर्ने भनिएपनि मिति नतोकिएको बताए । पालिकाभित्र रहेका १८ विद्यालयमा करिब २०० शिक्षक तथा कर्मचारीहरु रहेको पालिकाले जनाएको छ । भएको के हो ?

विष्णुुपुर गाउँपालिकाका उध्यक्ष उमेशप्रसाद यादव भ्रष्टाचार मुुद्धामा मुछिएपछि पालिकामा विभिन्न कानुनी जटिलता थपिएको छ । 

घुस प्रकरणमा मुछिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धन आयोगले उनी विरुद्ध अदालतमा मुद्धा दर्ता गरेपछि उनी निलम्बनमा छन् । 

उनी निलम्बनमा परेसँगै उनको कार्यकालमा भएको गाउँसभाको वैधानिकतामा प्रश्न उठेपछि विनियोजित बजेट पनि खर्च गर्न समस्या भएको पालिकाले जनाएको छ ।

विनियोजित रकम भुक्तानी गर्न नसकेपछि गत साउनदेखि शिक्षकहरुको समेत भुक्तानी रोकिएको थियो । शिक्षकहरुले विद्यालय नै बन्द गरेपछि प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा बिहीबार साँझ नै विद्यालय खोल्ने सहमति भएको हो । पालिका अध्यक्ष निलम्बनमा परेसँगै उपाध्यक्ष रेणुकुमारी यादवले कार्यकारी अध्यक्षको रुपमा पाालिकाको नेतृत्व गर्दै आएकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update