Odapalika - The Fourth Estate - चौथो अंग
फाल्गुनन्द गाउँपालिकाको अभियानः ५० मुरी धान फलाउने कृषकलाई ३० हजार पुरस्कार 

काठमाडौँ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नीति ल्याएको छ । 

‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ बनाएर गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्ने नीति अघि सारेको हो । 

कार्यविधिअनुसार ५० मुरीदेखि १०० मुरीसम्म धान उत्पादन गर्ने कृषकले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै १०० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

गाउँपालिकाले सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान गरेको छ । 

एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने तुम्रोकको भनाइ छ । आवेदन दिन कृषकले वडा कार्यालयमा उपलब्ध ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस बुझाउनु पर्नेछ । 

यस वर्ष ५० मुरीभन्दा बढी धान फलाएका कृषकको धान जहाँ राखिएको छ, सोही स्थानमा जाँच्ने गाउँपालिकाको तयारी छ । यसका लागि पालिकाको कृषि विकास शाखा, वडा कार्यालयमा वडाध्यक्ष नेतृत्वको समितिले काम गर्ने छ ।

कृषकले जसको जमिनमा धान फलाएपनि यो पुरस्का पाउने नीति छ । यसले जग्गा नहुनेसमेत खेतीमा आकर्षित हुने गाउँपालिकाको विश्वास छ । 

कार्यविधिअनुसार अधियाँ, कुत आदिमा धान फलाउने कृषकले आफू र जग्गा धनीका लागि छुट्याउनुपर्ने धान ५० मुरीभन्दा बढी फलाए पनि पुरस्कार प्राप्त गर्न सक्नेछन्  । 

फाल्गुनन्दका सवै वडामा धानखेती हुन्छ । निबु खोलाले सबै वडाको तटीय क्षेत्रलाई सिञ्चित गर्ने गरेको छ । निबुको बेँसी जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । बर्सेनि धान उत्पादन घट्दै जान थालेपछि फाल्गुनन्दले कृषकलाई प्रोत्साहित गरी खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको हो । 

पाँचथरको मिक्लाजुङ गाउँपालिकालेसमेत ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । 

puruskar1700823617.jpeg

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update