Odapalika - The Fourth Estate - चौथो अंग
कालीगण्डकीको शालिग्राम माडी नगरपालिकामा प्रतिस्थापन

चितवन ।  चितवनको माडी नगरपालिकामा १२ फिट अग्लो चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ  ।

बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताए ।

हरिबोधनी एकादशीका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले जानकारी दिए ।

शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा थप टेवा पुग्ने स्थानीय पुजारी केदारनाथ सापकोटाले बताए । उनका अनुसार कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको संख्या वढेको बताइएको छ । 

माडीमा एक दर्जन बढी धार्मिक क्षेत्र छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update