Odapalika - The Fourth Estate - चौथो अंग
२३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित

काठमाडौँ । १७ कात्तिकमा जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पबाट विस्थापित भएका बारेकोट गाउँपालिकाबासी अझै अस्थाई आवास (टहरा) मा सर्न पाएका छैनन् । 

चिसो मौसमका कारण धमाधम पीडितहरुले ज्यान गुमाइरहँदा केन्द्र तथा स्थानीय सरकारले उनीहरुको व्यवस्थापन गर्न सकेको छैन । 

तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्दा जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितहरुले सामान्य त्रिपालको भरमा अस्थाई टहरा पर्खिएको १ महिना हुनै लाग्यो । 

जाजरकोट जिल्ला अन्तरगतको बोरेकोट गाउँपालिकाका भूकम्पपीडित अझै त्रिपालकै भरमा छन् । भूकम्पको करिब १ महिना हुनै लाग्दा समेत उनीहरु अस्थाइ आवास (टहरा)मा सर्न समेत पाएका छैनन् ।

बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी केन्द्र सरकारको ढिलाइका कारण अस्थाइ आवास निर्माणको काम सुरु हुन नसकेको बताउँछन् । ‘हामी अहिले अस्थाइ आवास निर्माणको तयारीमा हामी छौँ, संघीय सरकारले एउटा कार्यविधि बनाएर पठाएको थियो, त्यो कार्यविधि असजिलो भएकै कारण निर्माणमा ढिलाई भयो’, उनले भने, ‘स्थानीय सापेक्षता, वस्तुगत यथार्थताभन्दा केही भिन्न खालको थियो, माथिल्लो निकायमा बसेर बनाएको कार्यविधिले फिल्डमा काम गर्न असहज हुन्छ भनेर मैले सुरुवाती चरणमा नै भनेको थिए ।’ 

उनले शनिबार मात्र केन्द्र सरकारले अस्थाई आवास निर्माणको कार्यविधि संशोधन गरेर पठाएको भन्दै भोलिदेखि नै निर्माणको काम सुरु हुने दाबी गरे । ‘अस्थाई आवास दिर्घकालीन समाधान होइन, हामीले स्थानीयलाई निर्माण सामग्रीको जोह गर्न भनिसका थियौँ, मंसिर महिनाभित्रै हामी निर्माणको काम सक्छाँै’, उनले भने । 

उनले बारेकोटको गाउँपालिकाको प्रारम्भिक तथ्यांक अनुसार भूकम्पका कारण ५ हजार ६०० घर पूर्ण रुपमा क्षति पुगेको जानकारी दिए । ‘यकिन तथ्यांक आएपनि त्यसलाई भेरिफाइको काम गर्न लागेका छौँ, जिल्ला रेडक्रम सोसाइटीको नेतृत्वको टोलीले भूकम्पबाट भएको क्षति पुनः संकलन गरिरहनुभएको छ, उक्त तथ्यांक आएपछि हामीले जिल्ला प्रशासन कार्यालयमा पेश गछौँ, त्यसपछि केन्द्र सरकारले दिने भनेको राहत रकम पाउँछाँै’, उनले भने । 

उनका अनुसार हाल ९० प्रतिशतभन्दा बढी स्थानीयहरु अहिलेसम्म त्रिपालकै भरमा छन् । ‘अहिले ९० प्रतिशतभन्दा बढी त्रिपालकै भरमा हुनुहुन्छ, केही राजनीतिक दल तथा केही संघ संस्थाले नमूनाका रुपमा अस्थाइ आवास निर्माण गरेपनि धेरै पीडितहरु अहिले पनि पालकै भरमा हुनुहुन्छ । मंसिर महिनाभित्रै सबैलाई अस्थाई घरमा बस्न पाउनुहुन्छ, हामी सोही अनुसार लागि परेका छौँ’, उनले भने । 

अध्यक्ष गिरीले सरकारी प्रक्रियाकै कारण भूकम्प पीडितलाई अस्थाइ टहरामा समेत समयमै बनाउन नसकिएको बताए । नेपालको सरकारी प्रक्रिया नै बिलम्ब गर्ने खालका छन्, जनताले परिमाण खोजेको हुन्छ, तर हामी प्रक्रिया भन्दै अल्झनमा धेरै परिन्छ’, उनले भने, अहिले भूकम्पको मात्र होइन अन्य काममा समेत बिलम्ब हुनेगरेको छ ।’ 

संघीय सरकारले भूकम्पबाट क्षति भएका क्षेत्रमा तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय छ । सरकारले उक्त निर्णय गरे पनि सो रकम अझै स्थानीय पालिकाको खातामा जम्मा छैन । 

उक्त रकम पालिकाको खातामा जम्मा हुनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा खाता नम्बर पठाएर निकासा लिन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । 

प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिन कार्यविधि तयार गरेर स्वीकृत गरेर तत्काल यही महिनाभित्र काम पूरा गर्ने लक्ष्य सरकारको छ । 

कार्यविधि तत्काल कार्यान्वयनमा लगेर भूकम्प प्रभावितलाई अनुदान उपलब्ध गराइने भनिए पनि उक्त रकम पाउन अझै केही समय लाग्ने देखिन्छ । 

गत २६ कात्तिकमा कार्यविधि स्वीकृत भए पनि अहिलेसम्म जिल्ला विपद् समितिको खातामा बजेट जम्मा नभएको जनाइएको छ । दिनप्रतिदिन चिसो बढ्दै जाँदा त्रिपालमा रहेका नागरिक बिरामी हुने र मृत्यु हुने क्रम जारी छ । चिसोका कारण अहिलेसम्म जाजरकोटमा मात्रै १३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update