Odapalika - The Fourth Estate - चौथो अंग
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम 

काठमाडौँ । सरकारले रकम अभाव भएको भन्दै सिमेन्ट उद्योगीलाई दिनुपर्ने निर्यात रकममा रोक लगाएको छ ।गत आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले नेपाली सिमेन्ट, रड लगायतमा नगद अनुदानको घोषणा गरेको थियो । बजेटमा नै व्यवस्था भएको उक्त अनुदान रकम दिन भने सरकारले ढिलाइ गरेको छ । 

सरकारले नेपाली सिमेन्ट निर्यातमा नगद अनुदानको घोषणा गरेपछि नेपाली उद्योगीले भारतका विभिन्न सहरमा निर्यात गर्दै आएका छन् । गत वर्ष निर्यात गरेको अनुदानन रकम १७ महिना हुँदासमेत उद्योगीले पाएका छैनन् । 

बजेटमा नै व्यवस्था भएअनुसार नेपाली सिमेन्ट भारत निर्यात गरिएको अनुदान रकम दिन सरकारले आलटाल गरेको उद्योगीहरु बताउँछन् । सिमेन्ट उत्पादक संघका अध्यक्षा ध्रुव थापाले सरकारले निर्यातमा नगद अनुदान घोषणा गरेर उद्योगीलाई झुक्याएको बताए । 

‘गत वर्षको बजेट अनुुुसार उद्योगीहरुले सिमेन्ट निर्यात गरे, आर्थिक वर्ष सकिएको ५ महिनाहुँनै लाग्दा पुरानो रकम समेत पाइएन’, उनले भने, ‘उद्योग मन्त्रालयले रकम छैन भन्छ, अर्थले माग गर्नुस् हामी दिन्छौँ भनेर ढाट्यो ।’

उनले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट व्यवसायीहरुलाई सहजीकरण गर्नुको ठाउँमा अनावश्यक दुःख दिने मात्र काम भएको बताए । 

विभाग भन्छ– प्रक्रियामा छ

उद्योगीहरुले सरकारले रकम नदिएको भनिरहँदा उद्योग विभागले भने अनुदान रकम वितरण प्रक्रियामा रहेको जनाएको छ । 

विभागका सूचना अधिकारी रमिला भण्डारीले तीन वटा सिमेन्ट उद्योगले अनुदान माग गरेकोमा एउटाको प्रक्रिया सुरु भइसकेको जानकारी दिइन् । 

‘हामीकहाँ ३ वटा उद्योगले निर्यात अनुदानका लागि आवेदन दिनुभएको थियो, आवेदन अनुसार पाल्पा सिमेन्टको भ्यालु एडिसनको काम सकिएर प्रक्रियामा गइसक्यो, बाँकी २ वटाको कागजात केही नपुगेका कारण हामीले थप कागजात मागेका छाैँ’, उनले भनिन् । उनले पाल्पा सिमेन्ट प्रक्रियामा गइसकेको भन्दै अन्यको पनि छिट्टै काम सकिने बताइन् । 

चार महिनामा १ अर्ब १३ करोडको सिमेन्ट निर्यात

चालू आर्थिक वर्षको चार महिना (गत साउनदेखि कात्तिकसम्म) को अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट भारत निर्यात भएको छ । 

उद्योग विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार ५८ करोड ५७ लाख रुपैयाँबराबरको १ लाख ७४ हजार टन क्लिंकर र ५४ करोड ४९ लाख रुपैयाँबराबरको ६ लाख ३१ हजार टन तयारी सिमेन्ट भारत निर्यात भएको छ । विभागका अनुसार कात्तिकमा मात्रै २७ करोड ७७ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।

विभागको तथ्यांकअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्ममा ३ करोड ५१ लाख २४ हजार रुपैयाँ बराबरको ६६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । सरकारले निर्यातमा नगद अनुदानको घोषणा गरेसँगै पछिल्लो समय सिमेन्ट निर्यातमा बृद्धि हुँदै गएको छ । 

२०७९ को असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड, असोज ३१ गतेदेखि अर्घाखाँची ब्राण्डको सिमेन्ट र २०८० को जेठ २९ गतेदेखि बालाजी सिमेन्टले बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट निर्यात सुरु गरेका थिए ।

यस्तै, पछिल्लो समय २०८० को भदौ २१ गतेदेखि सिजी सिमेन्टले समेत नेपाली सिमेन्ट भारत निर्यात सुरू गरिसकेको छ ।

सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड रुपैयाँ बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update