Odapalika - The Fourth Estate - चौथो अंग
आज गुरु नानक जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । 

१५२६ साल कात्तिक शुक्लपूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा गुरु नानकको जन्म भएको थियो । शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरी जातिवादको अन्त्य र मानवतावादी दर्शनको शुरुवात् नानकले नै गराएका थिए । उनी ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्दथे । 

गुरु नानक जयन्तीका अवसरमा आज पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए । पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने भएको छ ।  

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचनाकार गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्धेश्यले विना भेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गराएका थिए । 

आज पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update