Odapalika - The Fourth Estate - चौथो अंग
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा

काठमाडौँ । सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित विरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले रामधुनी नगरपालिका, वडा नं. ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नं. ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी कितावमा चढाई बढी भुक्तानी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा  भ्रष्टाचार भएको फेला पारेको थियो ।

रामुधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले गर्नुपर्ने काम नगरेको र गलत विवरण दिएको अख्तियारको भनाइ छ ।

‘स्थलगत रुपमा नापजाँच गरी नापी कितावमा वास्तविक परिमाण चढाउने र निर्माण व्यवसायीले पेश गरेको बिल सही छ छैन चेकजाँच गरी कार्यसम्पन्न प्रतिवेदन तयार गर्नुपर्नेमा निर्माणस्थलमा नगरे नगराएको काम भएको भनी घटी परिमाणमा सम्पादन भएको कार्यहरुको बढी परिमाण नापी कितावमा समाबेश गरी गलत प्राविधिक प्रतिवेदनसमेत तयार गरी झुट्टा बिल, नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २ लाख १२ हजार त्रिहत्तर रुपैयाँ बढी भुक्तानी लिएको पाइयो,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले विगो बमोजिम कैद एवं जरिवाना गरी बिगो रकम असुल उपर हुन साथै ओमकार प्रसाद न्यौपाने, देबेन्द्र नारायण चौधरी र हर्षलाल चौधरीले स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी उक्त निर्माण कार्यको गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को कसुर गरेकोले सोही ऐन अनुसार कैद र जरिवाना हुन मागदाबी लिएको छ।

रामुधनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी, वडा नंं ३ का तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनील कुमार चौधरीले अनुगमन तथा मूल्याङ्‍कन समितिमा रही स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध पनि कैद र जरिवाना मागदाबी गरेको छ ।

यस्तै, जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) ले सरकारी सम्पत्तिमा गैरकानूनी हानि र आफूलाई लाभ पुर्‍याउने बदनियतले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माणस्थलमा सम्पादन नै नभएको र नापी किताब एवं ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई नगरपालिकाको कार्यालयमा पेश गरी बढी भुक्तानी लिई भ्रष्टाचार गरेको भन्दै उनी विरुद्ध पनि २ लाख १२ हजार रुपैयाँ नै विगो कामय गरी मुद्दा दायर गरिएको छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update