Odapalika - The Fourth Estate - चौथो अंग
जाजरकोटका भूकम्पपीडितलाई नेकपा एसले १ सय अस्थाई टहरा बनाउने, थाप्लेबाट निर्माणको सुरुवात

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीकोतर्फबाट ‘अस्थायी संरचना निर्माण’ अभियानको सुरुआत गरेका छन् । भेरी नगरपालिका–३ थाप्लेस्थित सुशीला केसीको अस्थायी संरचनाको कामबाट अभियानको सुरुआत गरिएको हो । 

भूकम्प पीडितका कम्तीमा एक सय घर निर्माण गरेर हस्तान्तरण गरिने अध्यक्ष नेपालले जानकारी दिए । यो विपद्को समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष नेपालले जाजरकोटका पाँच सय भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको काम भइरहेको जानकारी दिए । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोटमा चिसोका कारण सर्वसाधारणको ज्यान गइरहेको समाचार आएको भन्दै उनले सरकारका संयन्त्र धेरै प्रक्रियागत कुराको पछि नलागी युद्धस्तरमा काम गर्नुपर्ने बताए । समाजवादी पार्टी हरेक नेता तथा कार्यक्रता समाजिक सेवामा लाग्नुपर्ने उनको भनाई थियो ।

राहत वितरण र अस्थायी संरचना निर्माण सँगसँगै 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पपीडितका लागि अस्थायी संरचना निर्माण र राहत वितरणलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । उनले समस्यामा परेका, आर्थिक अवस्था कमजोर भएका तथा विपन्न र सुत्केरीलाई लक्षित गरेर अस्थायी संरचना निर्माण गर्न आग्रह समेत गरे । 

प्रक्रियाका नाममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको भन्दै युद्धस्तरमा काम गर्न मन्त्री ज्वालाले सम्बद्ध सबैलाई आग्रह गरे । उनले भूकम्पपीडितको साथमा सरकार भएको भन्दै जनताको जीवन सहज हुनेग गरी काम गर्न निर्देशनसमेत दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मन्त्री ज्वालाले बोलेर भन्दा काममार्फत नतिजा देखिनुपर्नेमा जोड दिए । दैनिक चिसोका कारण मानिसको मृत्यु भइरहेको खबर आइरहेको भन्दै उनले स्थानीय तह तथा सबै सम्बद्ध निकायलाई नजितामुखी काम गर्न आग्रह गरे । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update