Odapalika - The Fourth Estate - चौथो अंग
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा 

काठमाडौँ ।  पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिमाना गरेको छ । महानगरले पोखरा–८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने २ पसलेलाई कारबाही गरेको हो ।

फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकिएको जनाउँदै अनुमतिबिना रुख नै काटेका उनीहरूलाई  १५ हजार रुपैयाँका दरले जरिमाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए ।

महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिबिना कटान गरेमा प्रतिहाँगा ५ हजार र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिमाना हुने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा १ घर २ बिरुवाको नीति लिएको छ । चालु वर्षमा २ लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ । महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । 

सडक छेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा नगरप्रमुख धनराज आचार्यले अनुरोध गर्दै आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update