Odapalika - The Fourth Estate - चौथो अंग
गोसाइँकुुण्डका होटलमा म्याद गुज्रेका खाद्यान बिक्री, २० हजार जरिवाना

काठमाडौँ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले २० हजार रुपैयाँका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधिनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका होटलले म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गरेको र  बीलविजक समेत जारी नगरेको अनुगमनका क्रममा फेला पारेको थियो । 

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड जाने भक्तजनलाई खान बस्न बढी मूल्य लिएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै पहिलोपटक ती क्षेत्रका होटलको अनुगमन गरिएको जनाइएको छ  ।                

अनुगमनका क्रममा ती होटलबाट बिक्री गरिरहेका पेयपदार्थलगायत विविध खाद्य सामग्री म्याद गुज्रिएको भेटिएको जनाइएको छ ।  पेय पदार्थगायतका चीज स्थानीयस्तरमै नष्ट गर्दै अब गल्ती नदोहो¥याउने प्रतिबद्धता गराई छोडिएको अनुगमन समितिका सदस्य बृहस्पति तामाङले जानकारी दिए । 

चन्दनवारीदेखी गोसाइँकुण्डसम्मको ११ होटल अनुगमन गरिएको उनले बताए । बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए ।  

यस्तै दुग्ध विकास संस्थानअन्तर्गत चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रको पनि सो अनुगमन समितिले स्थलगत निरीक्षण गरेको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update