Odapalika - The Fourth Estate - चौथो अंग
ह्वील चेयर बाँढिरहेका वडाध्यक्ष 

काठमाडौँ । कृष्णपुर नगरपालिका–२ ले वडाभित्रका अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वील चेयर बाढ्न थालेको छ । 

वडाअध्यक्ष अर्जुन साउदका अनुसार वडाले अपांगता भएका व्यक्तिको जीवनयापन सहज बनाउन ह्वील चेयर वितरण गर्ने अभियान थालेको हो । 

‘गाउँ घर टोलमा शारीरिक अपाङ्गता भएका व्यक्तिबारे जानकारी पाइएपछि निवेदन मागेर वडाकै बजेटमा ह्वील चेयर खरिद गरी घरमै पुगेर वितरणको कार्य गर्दै आएका छौँ,’ अध्यक्ष साउदले भने, ‘चालु आवको हालसम्म शारीरिक अपाङ्गता भएका ‘क’ श्रेणीको परिचयपत्र पाएका ८ व्यक्तिलाई ह्वील चेयर वितरण गरिसकेका छौँ ।’

वडाले दिएको हुवली चेयर पाएपछि अपांगता भएकी स्थानीय माधवी भट्ट निकै खुसी छिन् ।  दुर्घटनामा परेर स्पाइनल कर्ड इन्जुरी हुँदा भट्ट घरभित्रै बस्दै आएकी थिइन् । उनलाई वडाध्यक्ष साउदले ह्वील चेयर घरमै पुगेर उपलब्ध गराएका हुन् । 

माधवी जस्तै पक्षघात भएर हिड्न नसक्ने अवस्थाकी २२ वर्षीय मनीषा चन्दलाई पनि अध्यक्ष साउदले ह्वील चेयर उपलब्ध गराए । ह्वील चेयर पाएपछि मनीषालाई घरभित्र बाहिर आउजाउ गर्न सहज भएको छ । 

ह्वील चेयर उपलब्ध गराइका अपांगता भएका व्यक्तिलाई केही दिनभित्रै दिशापिसाब गर्न सहज हुने कुर्सी उपलब्ध गराउन लागेको अध्यक्ष साउदले बताए ।

‘शारीरिक अपाङ्गता भएका वडाका जति व्यक्ति सम्पर्कमा आउँछन् सबैलाई चेयर उपलब्ध गराउन वडा, नगरपालिका, स्वास्थ्य कार्यालय र विभिन्न संस्थासँग सहयोग मागेर चेयर उपलब्ध गराउने उनले बताए । 

अपांगता भएका विशेष क्षमता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि क्षमता अभिवृद्धिसँगै आयआर्जनका कार्यक्रमसँग जोड्नका लागि वडाका तर्फबाट कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update