Odapalika - The Fourth Estate - चौथो अंग
बाँसुरी बादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर, प्रथमलाई १ लाख ५० हजार पुरस्कार 

काठमाडौँ । २७ मंसिरमा काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता आयोजना हुने भएको छ । २९औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । इच्छुक समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्छ । 

दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट शिफारिस गराउनुपर्छ । यसपछि वडाबाट शिफारिस गराएर २० मंसिर २० भित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्छ ।  

प्रतियोगितमा सहभागी हुने सर्तका विषयमा जानकारी दिँदै स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकार भन्छन्, ‘प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (सृङ्गार) लगाउनुपर्छ । बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ ।’

मुनिकारकाअनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नुपर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ । यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ । 

प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्छ । यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनुपर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ । दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ । एउटा धुन ५ मिनेटभित्र सक्नुपर्छ । ४ मिनेटमा संकेत बज्नेछ । यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइन्छ । गीत नेपाल भाषाकै हुनुपर्छ । 

प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ र शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिनेछ । दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोमा ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ । 

सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद र प्रमाण पत्रसँगै सबै सहभागीलाई प्रमाण पत्र दिइने मुनिकारले जानकारी दिए । प्रतियोगिता २७ मंसिरमा राष्ट्रिय सभा गृहमा आयोजना हुने महानगरको भनाइ छ  । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update