Odapalika - The Fourth Estate - चौथो अंग
शल्यक्रिया गराउँदा आमा र शिशु निधन, अस्पतालमा प्रदर्शन 

काठमाडौँ । शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडितले लमजुङ अस्पतालमा प्रदर्शन गरेका छन् ।

पीडितपक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाएका छन् । पीडितको प्रदर्शनका कारण लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । 

लमजुङको मस्र्याङ्दी गाउँपालिका ९, पामचोक दलितवस्ती २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत्यु भएको छ भने उनको शल्यक्रियाबाट जन्मिएको शिशु मृत अवस्थामा थियो ।

पीडितका अनुसार गर्भवती विकलाई गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार दिउँसो शल्यक्रियामार्फत मृत शशिु जन्मिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ ५ बजेतिर चितवन मेडिकल कलेज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएपछि पीडितले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी आमा दुवैको मृत्यु भएको आरोप लगाएका छन् ।

पीडित पक्षले अस्पतालमा प्रदर्शन गर्न थालेपछि बुधबार बिहान ११ बजेबाट अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासन, मृतकका आफन्त, स्थानीय तहका प्रमुखसम्मिलित टोली छलफलमा जुटेको छ । यस विषयमा अस्पतालले औपचारिक रुपमा केही बोलेको छैन । 

अस्पतालको सुरक्षार्थ सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् । पीडित पक्षले अस्पतालको गेटमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update