Odapalika - The Fourth Estate - चौथो अंग
एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आजदेखि 

काठमाडौँ । एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको पदयात्रा आजबाट सुरु हुदैछ । 

सो यात्राको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको केन्द्रबिन्दु बैतडीको झुलाघाटमा आज गर्ने भएका छन् ।

एमालेले सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राका बीचमा डडेलधुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा विभिन्न कार्यक्रम गर्ने बताएको छ ।

संकल्प यात्राले देशको पहाडी क्षेत्रको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्रमापर्ने राजमार्गको सुरुवाती बिन्दु झुलाघाट नै भएकाले आर्थिक, सामाजिक थुप्रै सम्भावनालाई पहिल्याउँदै समृद्धिको विगुल फुकिने एमालेको दाबी छ ।

१९ दिनसम्म सञ्चालन हुने उक्त पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे पनि छलफल बहस र अध्ययन हुने एमालेले जनाएको छ । 

जलस्रोतको भण्डार, जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ । 

पुष्पलाल अर्थात् मध्यपहाडी लोकमार्गका परिकल्पनाकार आफ्नै पार्टी भएको तथा लोकमार्गसँग देशको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने भएकाले राजनीतिक दृष्टिले पनि सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिनेगरी सो कार्यक्रम गर्ने एमालेले जनाएको छ । 

कार्यक्रममा एमाले शीर्षस्थ नेताहरु, केन्द्रीय तथा पोलिटब्युरो सदस्यलगायतका एमाले नेता कार्यकर्ता सहभागी हुनेछन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update