Odapalika - The Fourth Estate - चौथो अंग
सूर्याेदय नगरपालिकाले उठायो ३१ करोड राजस्व, कस्तो छ आम्दानी र खर्चको हिसाव ?

काठमाडौँ । इलामको सूर्याेदय नगरपालिकाले गत आर्थिक वर्षमा ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । 

नगरपालिकाले सार्वजनिक गरेको आय व्यय विवरण अनुसार गत आर्थिक वर्षमा सो नगरपालिकाले ३१ करोड १३ लाख रुपैयाँ आन्तरिक स्रोत (राजस्व) संकलन गरेको हो । यद्यपि, नगरपालिकाले गत आर्थिक वर्षमा ३९ करोड ५१ लाख रुपैयाँ आन्तरिक स्रोत संकलन गर्ने लक्ष्य राखेको थियो ।

गत आर्थिक वर्षमा सूर्याेदय नगरपालिकाको सम्पूर्ण आम्दानी संकुचित भएको तथ्यांकले देखाएको छ । नगरपालिकालाई संघीय सरकारले ६७ करोड ६० लाख रुपैयाँ दिने भनेकोमा जम्मा ५९ करोड ५७ लाख रुपैयाँ मात्रै दिएको छ । 

यस्तै, प्रदेश सरकारले ११ करोड ५६ लाख रुपैयाँ अनुदान दिने भनेकोमा जम्मा १० करोड ६१ लाख रुपैयाँ मात्रै दिएको छ । राजस्व बाँडफाँडबाट १८ करोड ७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा १३ करोड ३ लाख रुपैयाँ मात्रै प्राप्त भएको नगरपालिकाले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा जम्मा १ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ । यो भनेको अनुमानको ८३.६१ प्रतिशत मात्रै रकम प्राप्त भएको हो ।

यद्यपि, नगरपालिकाले लक्ष्य अनुसार खर्च गर्न पनि सकेको छैन । सूर्याेदयले ७५ करोड ४६ लाख रुपैयाँ चालु बजेट खर्च गर्ने लक्ष्य राखेकोमा ५६ करोड ३६ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । पुँजीगततर्फ भने ६१ करोड २९ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा ४३ करोड ४२ लाख रुपैयाँ मात्रै खर्च भएको छ । सूर्याेदय नगरपालिकाले वार्षिक लक्ष्यको ७२ प्रतिशत मात्रै खर्च गरेको आय व्यय विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update