Odapalika - The Fourth Estate - चौथो अंग
आज ३६औँ विश्व एड्स दिवस, देशभर मनाइँदै  

काठमाडौँ । आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस, विश्वभर एड्सविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।

‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी ३६ औँ विश्व एड्स दिवस मनाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एड्ससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।

सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा विश्वभर ८ करोड ५६ लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण ४ करोड ४ लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन ३ हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको केन्द्रले प्रक्षेपण गरेको छ ।

एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो ।

आजको दिन एचआइभी संक्रमणले गर्दा ज्यान गुमाएका सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिका लागि दिप प्रज्वलन गर्ने, रोगबारे विभिन्न जनचेतनामुलक कार्यक्रम, गोष्ठीलगायतका कार्यक्रम गरी समुदायस्तरमा रोगबारे सचेत गराइन्छ । 

एचआइभीबारे संसारभर नै थ्रि जिरो अर्थात् तीन शुन्यको अवधारणा रोग बाट हुने मृत्यु र नयाँ संक्रमित दर शून्यमा झार्ने तथा संक्रमितलाई भेदभाव हुनबाट रोक्न थ्रि जिरो चर्चित मानिन्छ ।

जसमा पहिलो जिरोले एचआइएभी संक्रमितको मृत्युदर शून्यमा पुर्याउने, दोस्रो जिरोले नयाँ एचआईएभी संक्रमित दर शून्यमा पुर्याउने एवं तेस्रोले एचआइभी संक्रमितप्रतिको भेदभाव दर शून्यमा पुर्याउने प्रतिबद्धता गरेको जनाउँछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update