Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन उच्च अदालतले पनि थुन्नु भनेका नक्कली भुटानी शरणार्थी प्रकरणका ९ अभियुक्त

काठमाडौँ । पैसा खाएर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागिएको अभियोग लागेकामध्ये ९ जनालाई उच्च अदालत पाटनले पनि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायामाझीसहित बहालवाला सचिव टेकनारायण पाण्डेलाई थुनामै राख्न आदेश दिएको हो ।

थुनामै राख्न आदेश दिएका अन्य अभियुक्तहरुमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मा छन् ।

यी अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंले असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

कसलाई के अभियोग ?

पूर्वगृहमन्त्री रायामाझीले विचौलियालाई सहज हुने गरी नीतिगत निर्णय गरेको अभियोग छ ।

पाण्डे गृहसचिव भएको समयमा भुटानी शरणार्थीबारेको अध्ययन प्रतिवेदनमा कीर्ते भएको अभियोग सचिव पाण्डेलाई छ । गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची थपेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

यस्तै, डा. राईले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

मोरङका केशव दुलाल र सानु भण्डारी भुटानी शरणार्थी प्रकरणका मुख्य विचौलियामध्येका भएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update