Odapalika - The Fourth Estate - चौथो अंग
अन्तर पालिका फुटबलः समूह विजेता बन्दै मेचीनगर नकआउट चरणमा

काठमाडाैँ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ ।

लिग चरणका सबै तीन खेल जित्ने मेचीनगर एक मात्र टोली बनेको छ । खेलको छैटौँ र १६ औँ मिनेटमा मेचीनगरका निरज कार्कीले गोल गरेका थिए । त्यस्तै, ६१ औँ मिनेटमा सन्देश खवासले एक गोल गरे । प्लेयर अफ दि म्याच भएका कार्कीले नगद दुई हजार र ट्रफी पाए ।

यसैबीच, आज भएको दोस्रो तथा समूह ग को लिग चरणको अन्तिम खेलमा भद्रपुर नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै भद्रपुर पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

बाह्रदशी गाउँपालिकासँग बराबरी मात्रै खेले पनि भद्रपुर नकआउट चरणमा प्रवेश गर्ने अंक गणितीय अवस्थामा थियो । हारसँगै बाह्रदशी लिग चरणबाट घर फर्किएको छ । 

भद्रपुरले बाह्रदशीलाई २–० गोल अन्तरले हराएको हो । खेलको ३२ औँ मिनेटमा भद्रपुरका उदेश कामतीले गोल गरे । त्यस्तै, खेलको ५६औँ मिनेटमा निवाङ लिम्बूले गोल गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update