Odapalika - The Fourth Estate - चौथो अंग
अन्तरपालिका फुटबलः अर्जुनधारा विजयी

काठमाडौँ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिक ाजिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।

आज भएको दोस्रो खेलमा दमक नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । जारी प्रतियोगितामा तीनवटै खेल हार्ने दमक एक मात्र टिम बन्यो ।

आजको पहिलो खेल शिवसताक्षी र कमल गाउँपालिकाबीच भएपनि कमलगाउँपालिका खेल बहिष्कारको कारबाहीमा परेकाले शिवसताक्षीले सिधै ३ अंक र ३ गोल प्राप्त गर्यो ।

समूह घ मा रहेको शिवसताक्षी र अर्जुनधाराको समान ७ अंक र बराबर गोल अन्तर भएपनि पहेँलो कार्ड प्राप्त गरेको आधारमा अर्जुनधारा समूह विजेता बन्यो । लिग चरणका खेलहरुमा अर्जुनधाराले एउटा र शिवसताक्षीले दुईवटा पहेँलो कार्ड पाएको थियो ।

समूहविजेता बनेको अर्जुनधाराले आजको खेलको ६४ औँ मिनेटमा राजेश दाहाल र ७३औँ मिनेटमा निखिल तामाङले गोल गरेका थिए । 

खेलको प्लेयर अफ द म्याच भएका अर्जुनधारका बादल तामाङले नगद २ हजार र ट्रफी पाए । प्लेयर अफ द म्याचको पुरस्कार प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशीलगायतले प्रदान गरेका थिए ।

आजको खेलसँगै लिग चरणमा खेलहरु सकिएका छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । 

पहिलो क्वार्टर फाइनल खेल बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो क्वार्टर फाइनल खेल झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ । सेमिफाइनलका खेल २२ मंसिरमा हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update