काठमाडौँ । सोमबार बिहानैदेखि अधिकांश हिमाली जिल्लामा हिमपात भएको छ । हुम्ला, कालीकोट, मुस्ताङ, मनाङ लगायत उच्च हिमाली जिल्लामा हिमपात हुँदा जनजिवन प्रभावित बनेको छ । हिमपातका कारण उक्त जिल्लाको सडक समेत अवरुद्ध हुन पुगेको छ ।
हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए ।
हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताए । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उनको भनाई छ ।
आज विहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताउनुभयो । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ ।
यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
मनाङ मुस्ताङमा पनि हिमपात
हिमाल पारीको जिल्लाको रुपमा रहेका मनाङ र मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए ।
यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उनको भनाइ छ । विहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताए ।
‘यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ, यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए’, उनले भने ।
मान्ममा हिमपात
कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि कालीकोटका किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन् ।
पानीसहित हिमपात पर्नु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए । ‘गहुँ बाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ’, उनले भने ।
मान्मको तल्लो भू–भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका–१ का धनिराम सिंम्खडाले जानकारी दिए ।