Odapalika - The Fourth Estate - चौथो अंग
लाठे जति खाडी, खेतबारी सबै खाली
धनुषाको लक्ष्मीनिया गाउँपालिका– ३ वनिगामा सुख्खा खेतमा धान रोप्दै स्थानीय कृषक । युवाजति वेदेश पलायन भएपछि गाउँमा युवा जनशक्तिको अभाव भएको उनीहरु बताउँछन् ।

काठमाडौँ । स्थानीय तहहरु हरेक वर्ष युवालाई गाउँमै रोक्न कृषिदेखि उद्यमशीलतासम्मका योजनामा करोडौँ रकम खर्चिरहेका छन् । 

दूधदेखि पशुपक्षी पालनसम्ममा अनुदान दिनेदेखि सित्तैमा मल बिउ वितरण गर्ने, स्टार्टअपलाई विना धितो ऋण दिनेजस्ता कार्यक्रमपनि गाउँगाउँमा चलिरहेका छन् । 

तर भारतवाट आयात भएका तरकारीदेखि खाद्यान्नसम्मको तथ्यांकले भने स्थानीय तहको लगानी प्रभावकारी नभएको देखाइरहेको छ । 

बैदेशिक रोजगार विभागको तथ्यांकले गत आर्थिक वर्षमा मात्र ७ लाख वढी युवा विदेशिएको देखाउँछ । गत फागुन मसान्तसम्ममा ५ लाख युवा बाहिरिदएका थिए । पछिल्लो ४ महिनामा यो संख्या २ लाख माथि वढेको छ । 

विभागका अनुसार यो अन्तिम तथ्यांक भने होइन । यस अर्थमा अन्तिम तथ्यांक सार्वजनिक भइसक्दा विदेशिने युवाको संख्या अझ वढ्न सक्छ । 

तर नेपालको पुर्वी सिमाना काकरभिट्टा नाकाबाट आयात गरिएको तरकारी तथ्यांकले भने खेतबारी बाँझै राखेर खाडीलगायत अन्य देश जाने युवालाई मात्र होइन नेपालको समग्र अर्थतन्त्रलाई नै गिज्याइरहेको देखिन्छ । 

खेतवारीमा पर्याप्त उत्पादन हुने कोदोमात्र आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाका भएर ५१ करोड ३१ लाख २० हजार रुपैयाँको भित्रिएको देखिएको छ । 

काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ । 

यसैगरी गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । 

सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट ७ करोड ५७ लाख २८ हजार रुपैयाँ बरावरको  ७ हजार ७३३ मेट्रिक टन फर्सी आयात भएको छ । 

फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आर्थिक वर्षमा १९ करोड ८३ लाखको १२ हजार ३९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।

यो अवधिमा  ३१ करोड ९८ लाख बराबरको १९ हजार ९८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजारको ११ हजार ७१७ मेट्रिक टन भिन्डी र ८ करोड ९६ लाख ८० हजार बराबरको ५ हजार ६०० मेट्रिक टन सिमी भारतबाट आयात गरिएको तथ्यांक छ ।

८० करोड ९९ लाख ८४ हजारको २५ हजार ३१२ मेट्रिक टन प्याज, ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, २ करोड ७१ लाख ५२ हजारको १ हजार ६९७ मेट्रिक टन घिरौला, ४ करोड ९८ लाख रुपैयाँबरावरको ३ हजार ११३ मेट्रिक टन लौका नेपाल ल्याइएको छ । 

जंगलमा पाइने र करेसावारीमा रसमेत उत्पादन गर्न सकिने तरुल मात्र ३ करोड १० लाख रुपैयाँ बराबरको नेपाल भित्रिएको छ भने ४४ लाख ८० हजारको एक सय १२ मेट्रिक टन फापर र ६  करोड ६६ लाख ६६ हजार बराबरको अम्बा ल्याइएको छ । 

गत वर्ष यो नाकाबाट मात्र १७ करोड ३१ लाख २० हजार बरावरको ४ हजार ३२८ मेट्रिक टन चामल आयात भएको छ । तरकारी र फलफूलमात्र यो नाकाबाट ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको आयात गरिएको छ । 

भारतवाट आयात भएको तरकारी नेपाली कृषकले उत्पादन गरेको भन्दा सस्तो दरमा बेचबिखन हुने गरेका कारण नेपाली कृषकका उत्पादनसमेत विक्री नहुने किसानहरुको गुनासो छ । 

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाको दुखेसो छ । 

इलाम नगरपालिका–१२ की तुलसा रायाले केही अघिमात्र एक ट्रक फर्सी बेच्न  वुधवारे र विर्तामोडसम्म प्रयास गरिन् । तर बिक्री नभएपछि गाईभैँसीलाई खुवाउनुपरेको उनको तीतो अनुभव छ । 

गाउँमै केही गर्छु भनेर बसेका युवाले समेत भारतीय तरकारीका कारण आफ्नो उत्पादन बेच्नै नसक्ने अवस्था आएको किसानहरुको गुनासो छ । 

तरकारीसमेत नबिक्ने अवस्था आएपछि युवाहरु धमाधम बैदेशिक रोजगारीका लागि खाडीलगायतका देश जाने गरेको उनी बताउँछिन् । 

विदेशिनेको भयावह तथ्यांक 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जानेको संख्या हरेक वर्ष वढ्दो क्रममा छ ।  आर्थिक वर्ष २०६५/०६६ मा २ लाख १९ हजार ९६५ रोजगारीका लागि विदेश गएका थिए ।

२०६६/०६७ मा २ लाख ९४ हजार ९४ जना विदेशिएको तथ्यांक छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०६७/०६८ मा ३ लाख ५४ हजार ७१६ जना विदेश गएका थिए । आर्थिक वर्ष २०६८/६९ मा ३ लाख ८४ हजार ६६५ जना विदेशिए ।

आर्थिक वर्ष २०६९/०७० मा यो संख्या बढेर ४ लाख ५० हजार ८८९ पुग्यो भने २०७०/०७१ मा ५ लाख २७ हजार ८१४ जना विदेशिए ।त्यसैगरी २०७१/०७२ मा केही घटर ४ लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिए भने आर्थिक वर्ष २०७२/०७३ मा ४ लाख ३ हजार १७४ नेपाली वैदेशिक रोजगारमा गएको देखिन्छ । 

आर्थिक वर्ष २०७३/०७४ मा ३ लाख ८३ हजार ४९३ युवा विदेशिएका छन् भने २०७४/०७५ मा यो संख्या ३ लाख ५४ हजार ८२ जना पुग्यो ।

आर्थिक वर्ष २०७५/७६ विदेश जानेको संख्या घटेर २ लाख ३६ हजार २०८ मा पुगेपछि २०७६/०७७ मा कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या निकै घट्यो ह्वात्तै घट्दा १ लाख ९० हजार ४५३ जना मात्र कामका लागि विदेशिए ।

२०७७/०७८ कोभिडको प्रभावका कारण ७२ हजार ८१ जना युवा मात्रै विदेश पुगे भने २०७८/०७९ मा विदेशिनेको संख्या वढेर ६ लाख ३० हजार ९७ पुग्यो । आर्थिक वर्ष २०७९/०८० मा भने यो संख्या ७ लाल नाघिसकेको छ । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update