Odapalika - The Fourth Estate - चौथो अंग
इच्छाकामनाको चेपाङ बस्ती अब खानेपानीको पहुँचमा  

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका २ वटा खानेपानी आयोजनाको शिलान्यास भएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे ।

अध्यक्ष गुरुङले अब चेपाङ बस्तीमा ‘एक घर एक धारा’ निर्माण हुने जानकारी दिदै गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

१९० घरका लागि २ वटा खानेपानी आयोजनाको काम एकैसाथ सुरु गरिएको छ । यो आयोजना सफल भएपछि डोकोमा पानी बोक्नुपर्ने समस्याबाट चेपाङ समुदाय मुक्त हुनेछ । 

गाउँपालिका, स्थानीय उपभोक्ता र वाईन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी दिने योजना अघि वढेको हो । १ करोड ७९ लाख ७३ हजार रुपैयाँ लागतको आयोजना माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले बताए । 

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अध्यक्ष गुरुङले गाउँपालिकाले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई सुविधासम्पन्न बनाउने काम गरिरहेको बताए । 

वडाध्यक्ष पञ्चबहादुर प्रजाले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएको भन्दै यो आयोजना निर्माणपछि श्रमदान गर्ने बानीकोसमेत विकास हुने बताए । उनले आयोजना सम्पन्न भएपछि अन्य काममा पनि स्थानीयवासीलाई श्रमदान गर्न प्रेरित गरिने बताए ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update