Odapalika - The Fourth Estate - चौथो अंग
१८ लाख घुसले डिएसपीको जागिर चट

काठमाडौँ । गृह मन्त्रालयले निलम्बित प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई मंगलबार बर्खास्त गरेको हो ।

प्रहरी प्रधानकार्यालयले आन्तरिक छानबिनबाट डिएसपी केसीले आचरण उल्लंघन गर्दै प्रहरी ऐन विपरीतको कार्यमा संलग्न रहेको देखिएको भन्दै एक महिना अगाडि उनलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालय समक्ष सिफारिस गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा काजमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना बाहिरिएको थियो । 

बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुनसहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक घुस लिएका थिए । 

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो । सोही घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमासिफारिस गरेको थियो ।

प्रहरी हेडक्वार्टरले सिफारीस गरेको झन्डै एक महिनासम्म पनि कुनै निणर्य नगरेको गृहले मंगलवार भने केसीलाई बर्खास्त गर्न निर्णय गरेको हो । 

सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिनखान खोजेको’ तत्कालीन एसएसपी चन्द्र कुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ ।उक्त समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update