Odapalika - The Fourth Estate - चौथो अंग
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २७ मंसिरबाट  आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने भएको छ । महानगरले ३२ वटै वडामा यस्ता पदार्थको विक्री वितरणमा रोक लगाउने तयारी गरेको छ । 

काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनको दाफा ४२ मा टेकेर महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी थालेको हो । 

महानगरले कही दिनअघि महानगरभित्र सुर्तीजन्य पदार्थका बिक्रीवितरण गर्ने होलसेल तथा रिटेल व्यवसायीलाई महानगरमै बोलाएर स्कट (मौज्दात) सक्न निर्देशन समेत दिएको थियो । 

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ का प्रेस संयोजक सुरेन्द्र बजगाईँले मंसिर २७ गतेपछि सुर्तीजन्य पदार्थको बिक्रीवितरण भए नभएको नगर प्रहरीले अनुगमन गर्ने जानकारी दिए । 

‘हाम्रो तयारी सबै पूरा भएको छ । केही दिनअघि मात्र महानगरभित्र सुर्तीजन्य सामग्रीको बिक्रीवितरण गर्ने होलसेल तथा रिटेल व्यापारीहरुलाई मंसिर २७ गतेभित्र स्टक सक्न निर्देशन दिइसकेका छौँ । मंसिर २७ गतेपछि नगर प्रहरीले अनुगमन गर्छ । त्यस्तो अनुगमनमा उक्त सामग्री भेटिए जफत गरिन्छ र कारबाही पनि हुन्छ,’ उनले वडापालिकासँग भने ।

महानगरका प्रवक्ता नवीन मानन्धरले मंसिर २७ गतेदेखि महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा बन्द हुने बताउँछन् ।

‘हामीले यसअघि नै समय तोकेर आवश्यक तयारी थालेका थियौँ, मंसिर २७ गतेसम्म बिक्री वितरण गर्न पाइन्छ, २८ गतेदेखि पूर्ण रुपमा रोक लाग्छ’, उनले भने । 

प्रवक्ता मानन्धरका अनुसार २८ गतेपनि सुर्तीजन्य पदार्थको बिक्री वितरण भएको पाइए नगरप्रहरीले सबै सामग्री जफत गर्नेछ । 

‘२८ गतेदेखि महानगर नगरप्रहरी, जनप्रतिनिधि तथा स्थानीय संघसंस्थाका प्रतिनिधि लिएर अनुगमनमा जान्छ । अनुगमनका क्रममा गल्ती गरेको भेटिए तत्काल सामग्री जफत हुन्छ,’ उनले भने ।

उनले महानगरले सुरुवाती चरणमा सचेतनासँगै कारवाही स्वरुप सामग्री जफत गर्ने र जफत गर्दा पनि गल्ती दोहोर्याएको भेटिए सुर्तीजन्य पदार्थको ऐन अनुसार थप कारवाहीको प्रक्रिया अघि बढाईने जानकारी दिए । 

के छ कानुनमा ?

काठमाडौँ महानगरले २०८० सालमा जारी गरेको स्वास्थ्य सम्बन्धी ऐनलाई टेकेर महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो । 

उक्त ऐनको दफा ४२ मा अखाद्य पदार्थ, मदिरा तथा सुर्तीजन्य पदार्थको नियमनको व्यवस्था उल्लेख छ । 

जसमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणका लागि महानगरपालिकाबाट छुट्टै इजाजतपत्र लिनुपर्ने, सुर्ती तथा मदिराजन्य पदार्थ उपभोग र विक्री वितरणमा न्युनिकरण तथा नियन्त्रण गर्न महानगरपालिकाले निषेधित र विक्री वितरणका लागि खुल्ला क्षेत्र र समय तोक्न सक्ने कुरा उल्लेख छ । 

कानुन अनुसार महानगरपालिका भित्र मदिरा, चुरोट, सुर्ती लगायत मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने सामग्रीको विज्ञापन प्रचार–प्रसार, प्रदर्शन तथा सूचना प्रायोजन गर्न पाइने छैन । कसैले पनि अठार वर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य वा मदिराजन्य पदार्थ विक्री वितरण गर्न गर्न लगाउन वा उपहार लिनदिन पाइने छैन । मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामाग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । 

यस्तै, विद्यालय, स्वास्थ्य संस्था लगायत महानगरपालिकाले सूचना प्रकाशित गरेर चारकिल्ला तोकेका स्थान र सो वरपर जंक फुड, मंदिरा तथा सुर्तिजन्य पदार्थको विक्री वितरण, प्रचार र उपभोग निषेधित गर्न सक्ने, उपदफा (६) बमोजिमका निषेधित क्षेत्रमा जंक फुड, मंदिरा तथा सुर्तीजन्य पदार्थको विक्री, वितरण, प्रचारप्रसार गरेको पाइएमा सम्बन्धित विद्यालय तथा त्यस्तो जंक फुडको बिक्री वितरण वा प्रचारप्रसार गर्ने व्यक्ति वा संस्था वा दुवैलाई प्रचलित कानुनबमोजिम कारवाही हुने उल्लेख छ । 

के हुन्छ कारबाही ?

सो ऐनको दफा ५३ मा सुर्तीजन्य पदार्थको विक्री वितरण गरे कारबाही हुने सम्बन्धी व्यवस्था छ । सो दफामा २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिबाना गर्न सकिने उल्लेख गरिएको छ । 

कामपाका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले मंसिर २७ गतेपछि महानगरभित्र चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने जानकारी दिए । 

‘हामी स्वस्थ्य सहर निर्माणको अभियानमा छौँ । २९औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी गर्ने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका छौँ,’ उनले भने । 

महानगरले २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिकस्थलहरु शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुराँ, छात्रवास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update