Odapalika - The Fourth Estate - चौथो अंग
हडैया खोला पुल : ८ वर्षमा ९२ प्रतिशत काम सकियो, ८ प्रतिशत बाँकी हुँदा भत्किन थाल्यो 

काठमाडौँ । कटारी नगरपालिका–३ हडैयास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन सुरु भएको छ । 

हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिमतर्पmको ‘जोइन्ट’बाट पुल भत्किन थालेको स्थानीय मानबहादुर तामाङले जानकारी दिए । यो पुल निर्माण सुरु भएको आठ वर्ष हुन लाग्यो । यसअघि २०७५ सालमा यो पुलको  दुई स्ल्याबमध्ये एउटा भत्किएको थियो । 

सडक डिभिजन कार्यालय सिरहा, लहानका इञ्जिनियर सञ्जीव दासले राम्रो जडान नहुँदा चर्किएर भत्किन थालेको बताए । स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण पटक–पटक भत्कन थालेको आरोप लगाएका छन् । 

विसं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण सुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्माण नसकिएपछि पटक–पटक म्याद थपिए पनि अझै  पुल निर्माण सकिएको छैन । 

सडक विभागको आठ करोड ७९ लाख २८ हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण सुरु भएको थियो । ‘निर्माणाधिन पुल भत्किएर जोखिम बढेको छ, सुरुदेखि नै गुणस्तरहीन काम भयो हामीले जति गुनासो गरे पनि सुनुवाइ भएन्’, स्थानीय प्रकाश पाख्रिनले भने ।

इन्जिनियर दासका अनुसार पुल निर्माण अब आठ प्रतिशत मात्रै बाँकी छ भने ठेकेदार कम्पनीले भक्तानी लिन २० प्रतिशत बाँकी छ । पुल लामो समय अलपत्र पारेको, निर्माण नसकिँदै भत्किएको तथा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले ठेक्का तोड्नुपर्ने माग राखेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update