Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरभित्रका पसलः भाडाको पनि भाडामा, लगनखेलदेखि मंगलबजार निशानामा 

ललितपुर । ललितपुर महानगरपालिकाको कोर एरिया मंगलबजारदेखि लगनखेल क्षेत्रका व्यापारीले आफुले भाडामा लिएका सटर फुटपाथ व्यवसायीलाई पुनः भाडामा लगाउन थालेपछि महानगरपालिकाले यस्ता व्यापारी हटाउने अभियान थालेको छ । 

सटर भाडामा लिएका व्यापारीले सटर बाहिरको सडक पेटीमा फुटपाथ व्यवसायीसँग मासिक २५ हजार रुपैयाँसम्म भाडा लिएर व्यापार गर्न दिएका कारण ट्राफिक व्यवस्थापन र दैनिक जनजीवन अस्तव्यस्त भएको भन्दै फुटपाथ हटाउ अभियान नै सुरु भएको छ । 

महानगर प्रहरीको सक्रियतामा आगामी २४ मंसिरदेखि  मंगलबजारदेखि लगनखेल क्षेत्रका फुटपाथमा राखिएका पसल हटाउने अभियान थालिएको हो । 

नगर प्रहरीले मंगलबारबाट फुटपाथ पसल हटाउन भन्दै माइकिङसँगै सूचनासमेत टाँस गरेको छ । 

मंगलबजारदेखि लगनखेलसम्मको क्षेत्रमा भएका ११७ वटा पसलमध्ये ४७ वटा पसलले आफ्नो पसल बाहिरको ठाउँ मासिक १० देखि २५ हजार रुपैयाँसम्म लिएर फुटपाथ व्यवसायीलाई व्यापार गर्न दिएको नगरपालिकाको दाबी छ । 

जसका कारण ट्राफिक व्यवस्थापनदेखि जनजीवनसमेत अस्तव्यस्त भएका कारण बिहानको समयमा तरकारी पसल राख्नबाहेक अन्य सबै व्यवसायीलाई हटाउने अभियान थालिएको महानगरपालिकाले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गरेलगत्तै त्यहाँ व्यवासय गर्दै आएकाहरु हाल ललितपुर र भक्तपुरका फुटपाथमा बसेर व्यवसाय गरिरहेका छन् । 

काठमाडौँ महानगरले प्रतिबन्ध लगाउनुअघि मंगलबजार–लगानखेल क्षेत्रमा ४०० को हाराहारीमा फुटपाथ पसल भएपनि हाल सो संख्या बढेर १ हजार नाघिसकेको नगरपालिकाको भनाइ छ ।

अहिले पहिलो चरणमा मंगलवजारदेखि लगनखेल सम्मको फुटपाथमा व्यवसाय गर्न रोक लगाउने र दोस्रो चरणमा शहरका अन्य स्थानमा आवश्यकताअनुसार यो नियम लगाउने भएको छ । ।

फुटपाथ हटाएर रात्रिकालीन व्यवसायको वातावरण मिलाउने तयारी पनि सँगसँगै भइरहेको मेयर चिरीबाबु महर्जन बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update