Odapalika - The Fourth Estate - चौथो अंग
५ महिनादेखि दूधको पैसा पाएनन् कृषकले, ६ अर्ब भुक्तानी बाँकी

काठमाडौँ। पशुपालक किसानले ५ महिनादेखि भुक्तानी नपाउँदा निराशा बढेको केन्द्रीय दुग्ध सहकारी संस्थाले जनाएको छ । संस्थाद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महँगी बढेका बेला किसानको भुक्तानी पनि नियमित नहुनुले ठूलो मर्का परेको वक्ताहरुले बताए ।

संस्था अध्यक्ष अम्बरबहादुर कुँवरले किसानले पाउनुपर्ने रकम ६ अर्ब पुगिसकेको बताए । उनले भने ‘राज्यले कृषिलाई सम्मानित पेसाका रुपमा हेर्ने हो भने पशुपालकले पाउनुपर्ने दूधको पैसा छिटो भुक्तानी दिनुपर्छ ।’ दुग्ध विकास संस्थानले भुक्तानी रोक्दा दुग्ध संकलक सहकारीहरुले पनि काम गर्न नसक्ने अवस्था आएको उनले बताए ।

‘नेपालमा झण्डै १७ सय ७२ वटा सहकारीहरु दुग्ध उत्पादनको क्षेत्रमा आबद्ध छन् । देश कृषि प्रधान भए पनि किसानलाई गर्नुपर्ने सम्बोधनको बारेमा राज्य बेखबर छ,’उनले भने, ‘किसानहरु अन्नदाता हुन् । तर, आज नेपाली किसानले उत्पादन गरेका कुनै पनि वस्तुले राज्यले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यसमेत पाउन सकेका छैनन् ।’

भुक्तानी नियमित भए मात्रै पशुपालकले पेसा थाम्ने भएकाले लामो बक्यौता कसैका लागि पनि हितकर नहुने उनले बताए । सरकारको नीति र नियमन गर्ने निकायको उदासीनताकै कारण किसानहरु पेसाबाट हात झिक्न बाध्य भएको उनले गुनासो गरे ।  

५ महिनादेखि दूधको भुक्तानी नपाउनु र त्यसका लागि राज्यले गम्भीर भएर कदम नचाल्नु समग्र किसानका लागि दुःखद रहेको उनले बताए ।

२–२ पटक कृषि तथा पशुपक्षीमन्त्री वेदुराम भुसाललाई भेटेर आफूले समस्या राखेको उनले बताए । मन्त्री भुसालले समस्या समाधान गर्छु भनेर आश्वासन दिए पनि कुनैपनि काम नभएको उनको गुनासो छ । 

उनले नेपाली किसानको दूधलाई सहजरुपमा बजारको व्यवस्थापन गर्नुपर्ने र भुक्तानी दिन बाँकी ६ अर्ब रकम तत्काल निकासा गर्नसमेत माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update