Odapalika - The Fourth Estate - चौथो अंग
प्रदेशका आधा कार्यकाल नसकिदै अधिवेशन गर्न जुट्यो एमाले 

काठमाडौँ । ‘एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन । सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्ने क्रममा यस पटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’ नेकपा एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले साउन ४ गते जारी विज्ञप्तिको अशं हो । 

पार्टीको आगामी महाधिवेश सम्ममा एमाले १० लाख बढी सदस्य बनाउने लक्ष्य राखेको छ । तर, नयाँ राजनीतिक दलप्रति युवाको बढ्दो आकर्षणसँगै पुरानो दलहरूले केही गरेनन् भन्ने असन्तुष्टि बढ्दो छ । 

नेकपा एमालेमा मात्र होइन नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका पुराना दलप्रति पार्टीकै नेता तथा कार्यकर्ताको विकर्षण बढ्दो छ । त्यसले गर्दा पार्टी छाड्ने र निस्क्रिय बस्ने क्रमले पुराना दलमा तीब्रता पाएको छ । त्यसको असर एमाले अझ धेरै परेको एक पदाधिकारीले जनाए । 

पार्टीभित्र फरकमतको अस्थित्व नै नहुँदा नेता तथा कार्यकर्ता पलायन हुने क्रम सुरु भएको जनाउँदै त्यसलाई रोक्न हम्मेहम्मे परेको ती पदाधिकारीको दाबी छ । सबैभन्दा धेरै गण्डकी र लुम्बिनीमा ६०÷६५ प्रतिशत मात्र सदस्य नवीकरण भएको जनाउँदै ती पदाधिकारी कोशी र बागमती प्रदेशमा ५०÷५० प्रतिशत मात्र सदस्यता नवीकरण भएको छ । त्यस्तै, मधेस प्रदेश र कर्णलीमा सबैभन्दा कम ३० प्रतिशत सुदूरपश्चिम प्रदेश ३५ प्रतिशत मात्र सदस्यता नवीकरण भएको एमाले स्रोतको दाबी छ । 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि संगठन विस्तारका लागि पार्टीले विभिन्न चरणको अभियान सञ्चालन गर्दासमेत सकारात्मक प्रभाव पर्न नसकेको निष्कर्षसहित प्रदेश अधिवेशनमार्फत संगठनलाई चलायमान र नयाँलाई जिम्मेवारी दिने एमालेले रणनीति बनाएको ती पदाधिकारीको दाबी छ । सोही अनुसार एमालेले १५ असोजभित्र प्रदेश अधिवेशन सक्ने तयारी गरेको छ । 

गण्डकी बाहेक सबै प्रदेशेको अधिवेशनको मिति तोक्दै उसले कोशीमा असोज १२ र १३, मधेशमा असोज ५ र ६, बागमतीमा ८ र ९,लुम्बिनीमा भदौ १६ र १७, कर्णालीमा भदौ २९ र ३० र सुदूरपश्चिममा भदौ २२ र २३ गते गर्ने भएको छ ।

एमाले विधानले प्रदेश कमिटीसहितको कार्यकाल ४ वर्षको हुने व्यवस्था गरेपनि त्यसअघि नै अधिवेशन गर्न लागेको हो । यसअघि ८ माघ, २०७८ मा सातै प्रदेशमा एकै दिन अधिवेशन आयोजना गरेको थियो । जिल्ला र वडा अधिवेशन पनि एमालेले एकै दिन गरेको थियो । प्रदेश कमिटीको आकारसमेत घटाउने एमाले तयारी छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update