Odapalika - The Fourth Estate - चौथो अंग
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरैजसो औषधी पसल मापदण्ड विपरीत रहेको भन्दै महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ । 

स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘अनधिकृत व्यक्तिबाट औषधी बिक्री बितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री बितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको, प्रचलित व्यवस्था विपरीत नार्कोटिक औषधी बिक्री बितरण हुने गरेको अनुगमनबाट देखिएको छ ।’ 

जनस्वास्थ्यमा लापरवाही हुने क्रियाकलापले आफूलाई संवेदनशील बनाएको बताउँदै महानगरपालिकाका प्रमुख बालेन्द्रले  लापरवाही देखिए, भेटिए वा आफूलाई परे महानगरपालिकाको जनस्वास्थ्य विभागमा उजुरी गर्न आग्रहसमेत गरेका छन् । यसका लागि महानगरले १६६००१०५५११ नम्बरको टोल फ्री नम्बरसमेत सार्वजनिक गरेको छ । 

विभागले औषधी पसलहरुको अनुगमन गर्दा संवेदनशील प्रकारका त्रुटी देखिएका छन् । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार  अभिलेख नराख्ने, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत नलिने, गुड फार्मेसी प्राक्टिस (जीपीपी) अनुसार औषधी पसल व्यवस्थापन नगर्ने आम समस्या देखिएको बताए । 

तोकिएको समयपछि काठमाडाँै महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन गर्ने विभागको योजना छ । पौडेलकाअनुसार प्रचलित व्यवस्थाअनुसार अवस्थामा सुधार नगर्नेहरुलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारवाही हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update