Odapalika - The Fourth Estate - चौथो अंग
अब भरतपुर महानगरका घर दैलोमै स्वास्थ्य सेवा 

भरतपुर । भरतपुरका घर–घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिन थालेको छ । 

स्वास्थ्यकर्मीहरुले नसर्ने रोग लागेका विरामीलाई सेवा दिने छन् । बुधबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका मेयर रेनु दाहालले भरतपुर–२४ मा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम उद्घाटन गरेकी छन् ।

प्रमुख दाहालले दाहालले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । सो अवसरमा दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताइन् ।

यस कार्यक्रममा समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा गरिने उनको भनाइ छ । 

यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिनेछ । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ ।

दाहालका अनुसार पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागु हुन्छ । पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुन्छ । बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने जानकारी दिदै उनले यसका लागि १०० जना स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिइन् । अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन् । 

स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ ।

महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र छन् । 

वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update