Odapalika - The Fourth Estate - चौथो अंग
आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौँ । विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार भएको आगलागीमा तीनजना घाइते भएका छन् ।

आगलागीका घाइतेमध्ये सुशीला पासपानको कीर्तिपुरस्थित जलनसम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, सोही अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया सुनीता कामतको मृत्यु भएको छ । यसअघि विराटनगर–६ का ३५ वर्षीय दीपक मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आगोले जलेर घाइते भएकामा ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिङ्की कामत र ६० वर्षीया रिता सरदार छन् । उनीहरुको कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि कीर्तिपुर लगिएको थियो । विराटनगर महानगरपालिकासहित विभिन्न पालिकाका गरी ६ वटा दमकल प्रयोग गरी स्थानीय र प्रहरीले आगो निभाएका थिए । बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update