Odapalika - The Fourth Estate - चौथो अंग
परार ७८ वर्ष पुगेको मान्छे पोहोर ५९ वर्षको भएपछि...

काठमाडौँ । मान्छेको उमेर बढ्दै जान्छ । परार ७८ वर्ष भएको मान्छे पोहोर ७९ वर्षको र यसपाली ८० वर्षको हुन्छ ।

यसरी उमेर बढ्नु सामान्य प्रचलन हो । सरकारी कामकाजमा पनि प्रत्येक वर्ष एक वर्ष उमेर बढेको मानिन्छ । त्यसैले जन्ममितिका आधारमा सरकारले ५८ वर्ष पुगेपछि निजामती कर्मचारीलाई अवकाशको अनुमति दिन्छ ।

तर, बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकामा भने एकै वर्षमा कसैकसैको त २० वर्षसम्म उमेर घटेको पाइएको छ । यसरी उमेर घटेको पनि सरकारी तथ्यांकमा नै देखिएको हो ।

संघीय सरकारले उपलब्ध गराउने जेष्ठ नागरिक भत्ता पाउनको लागि गाउँपालिकालाई गलत सुचना दिने गरिएको पाइएको हो । नागरिकतामा उल्लेख भएको जन्ममितिमा ब्लेडले काटेर अनुकुल मिति राख्ने गरेको पाइएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए ।

‘कसैको नागरिकतामा जन्ममिति २०२० साल रहेछ भने पछाडीको २ को अंक ब्लेडले खुर्केर त्यसलाई पनि शुन्य लेख्ने गरिएको रहेछ । यसो गर्दा उसको उमेर अहिले ८० वर्षको भयो र जेष्ठ नागरिक भत्ता लिन योग्य भयो । हाम्रो पालिकामा यस्तो बद्मासी निकै भएको रहेछ,’ अध्यक्ष जोशीले वडापालिकासँग भने ।

उनले चिनजानका मान्छेलाई जानकारीका आधारमा र नचिनेका मान्छेलाई उसको शारीरिक अवस्था विचार गरेर जन्ममितिबारे यकिन हुने विधि निकालेका थिए ।

‘कुनै व्यक्ति त नागरिकतामा ८० वर्ष पुग्न लागेको उमेर देखिन्छ । तर, ठमठम हिडेर आएको हुन्छ, मेरो काम छिटो गरिदेउ भन्दै उल्टै हप्कीदप्की पनि गर्छ । यस्तो देखेपछि मलाई शंका लाग्यो र उमेरबारे सजग हुन कर्मचारीहरुलाई भनेँ,’ अध्यक्ष जोशीले थपे ।

जेष्ठ नागरिक भत्ता लिन आएका केही व्यक्तिले यसरी उमेर ढाँटेर पनि लिएको गाउँपालिकाले फेला पारेको थियो । पालिकाको यस्तो पहलपछि गर्त आर्थिक वर्षमा ६ लाख ६७ हजार रुपैयाँ जेष्ठ नागरिक भत्ता संघीय सरकारलाईलाई फिर्ता भएको उनले बताए ।

‘झुटो विवरण दिएर जेष्ठ नागरिक भत्ता लिनेहरु घटेपछि गत वर्ष सो भत्ताको लागि संघीय सरकारले पठाएकोमध्ये ६ लाख ६७ हजार रुपैयाँ फिर्ता भयो । मैले सबैको नागरिकता चेक गर्नु भनेको छु,’ अध्यक्ष जोशीको भनाइ छ ।

पालिकाको यस्तो पहलपछि परार ७८ वर्षको भनेर जेष्ठ नागरिक भत्ता खाएको व्यक्ति पोहोर जम्मा ५९ वर्षको मात्रै देखिएको पनि गाउँपालिकाले जानकारी दिएको छ । सो व्यक्तिले आफ्नो उमेर २० वर्ष बढी देखाएको पाइएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update