Odapalika - The Fourth Estate - चौथो अंग
प्राधिकरणले काटिदियो चन्द्रपुर र गुजारा नगरपालिकाभित्रका सडक बत्ती 

काठमाडौँ । बिजुलीको पैसा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले चन्द्रपुर र गुजारा नगरपालिका क्षेत्रका सडकबत्ती (टावर लाइट) लाइन कटिदिएको छ । बत्ती काटिएपछि समस्या भएको भन्दै वडावासीले गुनासो गरेपनि पालिकाले भने बत्ती जोड्न कुनै पहल गरेको छैन । 

चन्द्रपुर नगरपालिकाको वडा ४, ५ र ६ मा ३७ वटा, वृन्दावनको विभिन्न वडामा १७ वटा र गुजरा नगरपालिकामा ७ वटा गरी ६१ वटा सडक बत्तीको लाइन काटिएको हो । लाइन काटिए पनि वडा कार्यालयले विद्युतीय मिटर जडानमा चासो दिएको छैन ।

चन्द्रपुर–६ का कामेश्वर चौधरीका अनुसार टावर लाइट जडान भएपछि रातिको समयमा हिँड्डुल गर्न सहज भएको थियो । टावर लाइटको उज्यालो निकै परसम्म पुग्ने हुँदा राती हिड्डुल गर्दा डर नहुने गरेको उनको भनाइ छ । 

करिब ११ मिटर अग्लो टावर लाइटको चारदेखि ६ वटा प्यानलसहित बालिएको सडक बत्तीको लाइन काटिएपछि सम्बन्धित वडाका वडाध्यक्षले मिटर जडान गर्न आनाकारी गरिरहेको स्थानीयको भनाइ छ । 

यता, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरपालिका मातहतमा रहेका नगरपालिका कार्यालय, स्वास्थ्य संस्था, पशु तथा कृषि कार्यालय र वडा कार्यालयमा जडित मिटरको मात्र बक्यौता रकम भुक्तानी गर्ने बताए । 

नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार दसैँअघि नै जडान भएका ती बत्तीको मिटर राख्न वितरण केन्द्रले पटक–पटक आग्रह गर्दा पनि वडा अध्यक्षले वास्ता नगरेको कारण बाध्य भई लाइन काट्नुपरेको हो ।

वडा कार्यालयले मिटर लिन चाहेमा निःशुल्क उपलब्ध गराई पुनः लाइन जोडिने उनले बताए । यसअघि चन्द्रपुर नगरपालिकाले जडान गरेको सडक बत्तीको बक्यौता महसुल २ करोड ६५ लाख रुपियाँ रहेको जानकारी दिदै प्रमुख यादवले भुक्तानीका लागि नगरपालिकामा कैयौँ पटक पत्राचार गरेको, भेटेरै पनि नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरेको तर पनि भुक्तानी नभएको बताए ।

प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले चन्द्रपुर, गुजरा र बृन्दावन नगरपालिकाको सडक बत्तीको लाइन काटिदिएको हो । पालिकाका वडा अध्यक्षले बिनामिटर सडक बत्ती जडान गरेका कारण लाइन काटिएको वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update