Odapalika - The Fourth Estate - चौथो अंग
एनसेलको मूल्य कति? मेयर हर्क साम्पाङले लगाए १० अर्बको बोल 

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिवेला एउटा अभियानमा छन्– धरानमा एयरपोर्ट बनाउने । कहिले पत्रकार बोलाएर धरानमा एयरपोर्टको औचित्य सावित गर्छन् त कहिले संघीय पर्यटन मन्त्रीलाई धरानमा एयरपोर्ट खोल्न सक्रियता देखाएको भन्दै धन्यवाद दिन्छन् । 

उनको व्यस्तता यतिमा सकिदैन । धरानमा श्रम संस्कृति निर्माण अभियानमा जुटेका उनलाई संघीय सरकारका गतिविधिले बेलाबेला पोलिरहन्छ ।  बुधबारदेखि उनलाई २ वटा संघीय गतिविधिले निक्कै पोलेको छ । 

एउटा एनसेल खरिद प्रकरण, अर्को चाँहि अख्तियार दुरुपयोग अनुसन्धानका पत्रका ठेली ।

अक्सर श्रमदान गर्न उक्साउने उनका सामाजिक सञ्जालका टिप्पणीमा वुधबार नयाँ विषयले प्रवेश पायो– एनसेल खरिद प्रकरण । संसदीय सुनुवाई समितिमा यस विषयमा बहस हुन थालेपछि र दलका भ्रातृसस्थाले समेत एनसेलका शेयरहोल्डरलाई कारबाही माग गर्न थालेपछि हर्क चुप लागेर बस्ने कुरै भएन । 

त्यसैले उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे– एनसेल ६ अर्बमा बेच्ने भए धरान उपमहानगरपालिकाले १० अर्ब बोल लगाउने छ ! दिने हो? 

कौडीको भाउमा शेयर किनबेचको प्रसंगमा असन्तुष्ट मेयरले यो टिप्पणी यता २ दर्जनजति फेसबुक स्टाटस लेखेका छन् । 

यी मध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गुणस्तरीय सेवा दिन लेखेको पत्रबाहेक सबै आफ्ना गतिविधिको प्रचार र विभिन्न निकायका कामप्रतिको असन्तुष्टि कन्द्रीत छन् । 

नगरपालिकाका विभिन्न गतिविधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचेत गराउने, जवाफ माग्ने र स्पष्टीकरण सोध्ने गर्न थालेपछि बिरक्तिएका हर्कले अख्तियारमाथि पनि असन्तुष्टि पोखेका छन् । 

फेसबुकमा उनलले लेखेका छन्– अख्तियार भन्ने आयोग मलाई र्याखर्याख्ती पार्नलाई मात्र बनेको हो कि जस्तो लाइराछ ! खोइ त खर्बौको घोटाला हुँदा कारबाही गरेको ?

त्यसो त देश विकास नभएकोमा उनको चिन्ता झन धेरै छ । उनलाई त्यही भएर रातपनि कति लामा लाग्छन् । लाग्छन् मात्र होइन, फेसबुकमै लामो रात भएकोमा गुनासो पनि गर्छन् । 

र, लेख्छन्– निद्रा लाग्दैन मलाई निद्रा लाग्दैन ! सपनीमा हजारौ सहिद आएर सोध्छन् ‘खोइ त त्यो नेपाल ? खोइ त त्यो नेपाल ? जसको निम्ति हामीले आहुति दियौँ’ !... निद्रा लाग्दैन...

सामाजिक सञ्जालमा मनमा लागेको कुरा फ्याट्टै लेखेकै कारण उनका प्रसंसकसँगै आलोचक पनि बढेका छन् । 

तर उनी कसले के भन्छ भन्नेमा मतलव गर्दैनन् । बरु टिकटक बन्द गरेकोमा बेला बेला उनका आक्रोस पढ्न पाइन्छ । 

कुनैदिन सरकारले फेसबुक पनि बन्द गरिदियो भने मेयर हर्क साम्पाङका मनका बह र आक्रोस धरानेसँगै देशभरका जनताले कहाँ पढ्ने होला है? 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update