Odapalika - The Fourth Estate - चौथो अंग
गल्याङ नगरको पहलः छोरी जन्मिए बैँक खाता खोलेर ५ हजार डिपोजिट 

काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद ५ हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

गल्याङभित्रका एघार वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद ५ हजार रुपैयाँ नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन् ।

‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको हो, चालु आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमअन्तर्गत छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोलिदिन्छ,’ उनले भनिन् । 

बिहीबार गल्याङ–३ स्थित एक दलित समुदायकी सुत्केरी आमाले छैटौँ छोरीका रूपमा जन्मदिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी भएको हो ।

नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन । छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको उनको भनाइ छ ।

नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोषिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम सञ्चालनमा छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update