Odapalika - The Fourth Estate - चौथो अंग
खानेपानी चोरेर उद्योग चलाउँछन् बर्दिवास नगरपालिकाका व्यवसायी 

महोत्तरी । खानेपानीको अभाव झेलिरहेको महोत्तरीको बर्दिवास नगरपालिकामा सञ्चालित केही उद्योगले बर्षैदेखि पानी चोरेर उद्योग चलाइरहेको भेटिएको छ ।

बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निरीक्षणकोे क्रममा बर्षैदेखि पानी चोरी गरेर उद्योग नै सञ्चालन गरेको भेटिएको हो ।

९ बर्ष देखि एउटा टायल उद्योगले खानेपानी चोरी गरेर उद्योग सञ्चालन गरेको र अन्य धेरै चोरीका घटनाहरु फेला परेको उपभोक्ता समितिले जनाएको छ ।

‘त्यस्ता धाराहरुको खोजी गरेर काट्दै चोरी गर्नेहरुलाई कारवाही प्रक्रिया अगाडी बढाएका छौँ’ उपभोक्ता समितिका कोषाध्यक्ष भोजराज फुयाँलले वडापालिकासँग भने ।

पानीको महसुल लामो समयदेखि नतिर्ने केही व्यापारी तथा व्यक्तिको धारा पनि काटिएको छ भने यसबीचमा ३० लाख रुपैयाँ बक्यौता उठाइएको उनले जानकारी दिए ।

व्यापारी, व्यक्ति तथा उद्योगहरुले खानेपानी संस्थानलाई २ करोड १५ लाख वक्यौता बुझाउन बाँकी छ । संस्थानले पटक–पटक उक्त वक्यौताको बिषयमा ताकेता गर्दा पनि अटेर गरेपछि धारा नै काट्ने प्रक्रिया अगाडि बढाइएको हो ।

उनका अनुसार अहिलेसम्म नगरभित्र ८५ वटा धाराहरु काटिएको छ भने काटने क्रम जारी छ । धारा काटेपछि भने केही व्यीक्त तथा संस्था महसुल बुझाउन तयार भएको उनको भनाइ छ । 

बर्दिवास नगरपालिका–३ को गौरिडाँडा, वडा नं. १, २ र १४ का  बासिन्दालाई खानेपानी संस्थानले ५ हजार ५४६ वटा धारा जडान गरिदिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update