Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगरको लगानी सम्मेलनः चिनियाँ लगानीकर्ता सकारात्मक

काठमाडौँ । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक देखिएका छन् । 

भरतपुर–२२ को सोल्टी वेस्र्टन होटलमा भएको लाईभ तथा अनलाईन अन्तरक्रिया कार्यक्रममा भरतपुरको विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् । 

चेम्बर अफ कर्मस छ्यान्जाओ सिआनको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्यमीको सहभागितामा १३० जना विदेश लगानीकर्ता सो कार्यक्रममा भाग लिएका थिए ।

भरतपुरको पर्यटकीय क्षेत्रका सम्भावनालाई चिनियाँ बजारसम्म पुराउन पटिहानी क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कर्मस छ्यान्जाओका कार्यकारी अध्यक्ष चोङ्ग कोए पिनले जानकारी दिए ।

अध्यक्ष पिनले भरतपुरमा धेरै क्षेत्रमा लगानी गर्न सकिने भएपनि पहिलो चरणमा भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरेर पर्यटन प्रर्वद्धनमा लागेको उल्लेख गरे ।

भ्रमण वर्ष सफल बनाउन भरतपुरका पर्यटकीय क्षेत्रको बारेमा रिर्पोट बनाएर सिआन छ्यान्जाओ सरकारसँग पटक पटक छलफल भएको सो अवसरमा जानकारी दिए । भ्रमण वर्षको प्रचार–प्रसार गर्न नेपाली सँस्कृति झल्कने गरी सिआन सहरमा संग्रालय निर्माणको काम अगाडि बढाइएको पनि अध्यक्ष पिनले बताए ।

भरतपुरमा तत्काल नै फुड एण्ड बेबरेज, पाईप फ्याक्ट्री, कृषि तथा शिक्षा क्षेत्रमा लगानी गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए । करिब ३ महिनाको बीचमा भरतपुरबारे धेरै कुरा जान्ने अवसर पाएकाले बोलेका कुरा पुरा गर्ने चेम्बर अफ छ्न्जाओ सिआनको विषेश्ता रहेको अध्यक्ष पिनले बताए ।

कार्यक्रममा वैज्ञानिक डा उ जिनले भरतपुरले आईटी क्षेत्रमा पनि सिआनसँग सहकार्य गर्न सक्ने बताए । भरतपुरको शान्ति, सुरक्षा तथा प्रविधिमैत्री महानगर निर्माणमा दुई सहरले सहकार्य गर्ने डा जिनले बताए ।

चीन भाषा विज्ञ सरोज बस्नेतले भरतपुरमा लगानीकर्तालाई आर्कषित गर्न पहिलो चरणको लगानी सम्मेलन आयोजना गरिएको बताए । निकट भविष्यमा अझै ठुलो लगानी सम्मेलनमार्फत भरतपुरको आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा लगानी भित्र्याउन सकिने बताए । 

भाषा विज्ञ बस्नेतले लगानीकर्तालाई सरलीकरण गर्न सकियो भने लगानी सहज रुपमा भित्र्याउन सकिने जिकिर गरे । कार्यक्रमका सञ्चालक तथा सरल नेपालका अध्यक्ष मनिष पौडेलले भरतपुरको स्थानीय स्तर हुँदै महानगरस्तरीय लगानी सम्मेलन आयोजना गर्ने उदेश्य राखिएको बताए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update