Odapalika - The Fourth Estate - चौथो अंग
‘हत्यारा’ संघीय सांसदलाई कारवाहीको माग गर्दै काठमाडौँ आइपुगिन् असइ पत्नी 

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक (असइ) थमन बहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटी–लखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितेको छ ।

विकको हत्या हुँदा उनका छोरा सुवोध ३ वर्षका थिए । अहिले उनी ‘टिनएज’ मा प्रवेश गरिसकेका छन् । नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापूर्वक हत्या गरेको  आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो कोइरी (महोत्तरी–१ वाट संघीय संसदमा निर्वाचित) हाल निलम्बनमा छन् ।

निलम्बनसगैँ पक्राउ पर्ने डरले फरार रहेका कोइरीलाई खोज्दै नेपालगञ्जवाट थमनका छोरा र श्रीमती सोभा विक यतिवेला संघीय राजधानी काठमाडौँमा न्यायको याचना गरिरहेका छन् ।

८ वर्ष अगाडि मृतक थमनका दाजु प्रेम विकले किटानी जाहेरी दिएका उनै कोइरीलाई  खोज्दै श्रीमती सोभा र उनका छोरा सुबोध न्याय नपाएपछि राजधानीमा छन्। ‘संघीय राजधानी आएपछि न्याय पाइन्छ कि भनेर छोरालाई लिएर आइपुगेको छु,’ थमनकी श्रीमती शोभाले वडापालिकासँग भनिन् । 

थमनका छोरा सुबोध आमालाई वुवाको वारेमा सोधिरहन्छन् ।  तर उनीसँग बुवाका हत्यारा संसद हुन भन्ने बाहेक कुनै जवाफ छैन, न न्याय नै साथमा छ उनीसँग यतिवेला ।

२०७२ साल भदौ २५ गते  आन्दोलनकारीलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका थमनलाई उपचारको लागि एम्बुलेन्सवाट जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट निकालेर खलेटी लखेटी हत्या गरेको आरोप कोइरीमाथि छ ।

‘छोराले निक्कै कर गरेपछि न्याय पाइन्छ कि भन्ने आशमा काठमाडौँ आईपुगेका छाैँ,’ शोभाले भनिन् । एम्बुलेन्सवाट थुतेर धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै निर्मम ढंगले हत्या गरेको दृश्य सम्झदा शोभा अहिलेपनि भक्कानिन्छिन् ।

यही घटनाका कारण शोभा अहिलेपनि डिप्रेसनको औषधि खाइरहेकी छिन् । ‘मन दरो बनाउन नै सक्दिन । छोरालाई हेरेर मन दरो बनाउँ भन्छु सकेको छैन,’ उनले भनिन् ।

अझ श्रीमानलाई हत्या गर्ने मुख्य योजनाकार भनिएका कोइरीलाई उन्मुक्ति दिदा आमा शोभा मात्र हैन उनका छोरा सुबोध निक्कै दुःखी छन् । ‘हुन त राज्यले छोरालाई निःशुल्क पठनपाठन गराइदिएको छ । वहाँको मासिक पैसा पनि मलाई आउँछ न्याय विनाको यो सवै फिक्का बनेको छ,’ शोभा भन्छिन् ।

मृतक थमनका दाइ प्रेमको जाहेरकिा आधारमा २०७५ साउन २८ मा जिल्ला अदालत महोत्तरीमा कोइरीसहित २८ जनामाथि मुद्दा दर्ता भएको थियो । अदालतले तीमध्येका कोइरीलाई तारेखमा रिहा गर्ने आदेश दियो । तर साउन २८ मा जिल्ला अदालत महोत्तरीले गरेको आदेशमा त्रुटी भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले असोज ११ मा उच्च अदालत जनकपुरमा निवेदन दर्ता गराए । 

उच्च अदालतले उनलाई थुनामा राखेर मुद्दा सनुवाइृ प्रक्रिया अघि वढाउन आदेश दिएपछि उनी फरार भए । फरार अवस्थामै महोत्तरीबाट चुनाव जितेका उनी ७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँबानेश्वरस्थित संसद भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित भएको संसदमा रेकर्ड छ ।

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदा समेत नसमातिएका कोइरीलाई ६ माघ २०७९ मा गृह मन्त्रालयले पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी पक्राउ परेका छैनन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update