Odapalika - The Fourth Estate - चौथो अंग
घोराही उपमहानगरका २ वडाध्यक्षको जुँगाको लडाईं, ८ नम्बरले ९ नम्बरको वडाभवन खाली गराउने

काठमाडौँ । दाङ जिल्लाकामा पर्ने घोराही उपमहानगरपालिकाका २ वटा वडामा वडाध्यक्षबीचको जुँगाको लडाईंले समस्या उत्पन्न भएको छ ।

वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाह र वडा नम्बर ९ का वडाध्यक्ष चैतुकुमार चौधरीबीचको विवादले उग्र रुप लिँदा वडा नम्बर ९ को वडाभवन नै सार्नुपर्ने अवस्था सिर्जना भएको छ । 

यी दुई वडाअध्यक्षले राजनीतिक रंग देखाउँदा पनि समस्या भएको स्थानीयले बताएका छन् । वडा नम्बर ८ का वडाध्यक्ष शाह नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए भने ९ का वडाध्यक्ष चौधरी माओवादी केन्द्रबाट उम्मेदवार बनेर विजयी भएका थिए ।

‘सीमा विवादभन्दा पनि प्राविधिक रुपमा समस्या कसरी समाधान गर्ने भन्ने विषय थियो । यो विषयमा ८ र ९ का वडाध्यक्षले समाधानको उपाय निकाल्नुको साटो आफ्नो जुँगाको लडाईं जस्तो बनाए । अब त सरकारी लेटरप्याडमा पत्र नै काटेर कारवाही गरागरको जस्तो स्थिति उत्पन्न भइसक्यो,’ उपमहानगरपालिकाका एक जनप्रनिधिले भने ।

वडाध्यक्षहरुको जुँगाको लडाईं

मंसिर २१ गते वडा नम्बर ८ का वडाध्यक्ष शाहले वडा नम्बर ९ लाई पत्र काटेर ३५ दिनभित्रमा वडा कार्यालय खाली गराउन भनेका छन् । वडा नम्बर ९ को भवन वडा नम्बर ८ को सीमाभित्र परेका कारण सो भवन खाली गराउन पत्र पठाइएको हो ।

वडा नम्बर ८ ले भवन खाली गराउन पठाएको पत्र प्राप्त भएको वडा नम्बर ९ का वडाध्यक्ष चौधरीले जानकारी दिए । 

‘८ बाट आएको पत्र प्राप्त भएको छ । अब के गर्ने भन्ने कुरा हाम्रो वडाको मात्रै सरोकारको विषय होइन । उपमहानगरले आवश्यक व्यवस्था मिलाउँछ होला,’ वडाध्यक्ष चौधरीले वडापालिकासँग भने ।

उनले सीमा विवाद रहेको र वडा नम्बर ९ को भवन वडा नम्बर ८ को सीमाभित्र रहेको विषय पुरानै भएको पनि बताए । 

‘यो सीमा विवाद पहिलादेखिकै हो । सीमा विवाद मिलाउन नगरसभाले पारित गरेर प्रदेश हुँदै संघमा पनि पत्र गएको थियो । संघले पठाएको पत्र प्राप्त भइसकेको छ । अब मिलाउने जिम्मा उपमहानगरपालिकाको हो । वडाको मात्रै विषय होइन,’ वडाध्यक्ष चौधरीले भने ।

वडा नम्बर ८ का वडाध्यक्ष शाह भने विवादको सुरु चौधरीले नै गरेको बताउँछन् । वडा नम्बर ८ का वडाध्यक्ष शाहको पुरानो घर वडा नम्बर ९ मा पर्ने बकुल्लाहीमा थियो । गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर ८ मा वडाध्यक्षको चुनाव लड्नु पर्ने भएपछि उनी बसाईं सरेर वडा नम्बर ९ बाट वडा नम्बर ८ मा गएका थिए ।

‘मेरो पुरानो घर नै वडा नम्बर ९ मा पर्छ । काम विशेषले म वडा नम्बर ९ मा पर्ने मछाईं जाँदा वडाध्यक्ष चौधरीसँग जम्काभेट भयो । उनले वडा नम्बर ८ को मान्छे ८ नम्बर वडामा नै जाने नि, किन ९ नम्बर वडामा आएको भनेर झगडा गरे । म ९ नम्बरको पुरानो वासिन्दा पनि, त्यसमा पनि एउटा वडाको वडाध्यक्ष अर्काे वडामा जानै नपाउने भन्ने हुन्छ त ? उनको यस्तो व्यवहारले मलाई पत्र लेख्न बाध्य बनायो,’ वडाध्यक्ष शाहले वडापालिकासँग भने ।

वडा नम्बर ८ का वडाध्यक्ष शाह २०७९ को स्थानीय तह निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेर विजयी भएका थिए । तर, वडा नम्बर ९ का वडाध्यक्ष चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा भने चौधरी पराजित भएका थिए ।

‘२०७४ को चुनावमा म ९ नम्बरकै बासिन्दा थिएँ । एमाले भएको कारण एमाले उम्मेदवारलाई जिताउन निकै लागेको पनि थिएँ । त्यहाँ एमालेले चुनाव जितेको पनि थियो । यसपाली म आफै उम्मेदवार भएर ८ नम्बरमा उठ्नु पर्ने भयो । त्यसैले उनी (९ नम्बर वडाका वडाध्यक्ष चौधरी) लाई मसँग पुरानो दुस्मनी साध्ने निहूँ पनि चाहिएको थियो कि,’ वडाध्यक्ष शाहले भने ।

भएको के हो ?

राज्य पुनसंरचनाको क्रममा स्थानीय तहहरु गठन गर्दा पुराना स्थानीय तहहरु गाभ्ने काम भयो । पुराना गाविसहरुलाई अहिलेका पालिकाहरुका एक वा सोभन्दा बढी वडा बनाइयो । 

यसैक्रममा दाङको ढिकपुर गाविसलाई पनि घोराही उपमहानगरभित्र गाभियो । यसरी गाभ्दा साविकको ढिकपुर गाविस घोराही उपमहानगरपालिकाको वडा नम्बर ८ र ९ बने । सोही क्रममा ढिकपुर गाविसको भवनलाई वडा नम्बर ९ को वडाभवन बनाइयो ।

तर, वडाको सिमांकनमा वडा नम्बर ९ को भवन रहेको स्थान वडा नम्बर ८ भित्र पर्यो । यो समस्या देखिएपछि २०७६ सालमा दुबै वडाका वडाध्यक्ष मिलेर गाउँ साटासाट गरेर समस्या समाधान गर्ने सहमति भएको उपमहानगरपालिकाको प्रवक्ता समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष राममणि पाण्डे बताउँछन् ।

‘गाउँ साटासाट गरेर मिलाउने सहमति गरियो, सोही अनुसार नगरसभाले पारित गरेर प्रदेश हुँदै संघमा पनि पत्र पठाइयो । तर, स्थानीय तहको सिमांकनको लागि भूगोल र जनसंख्या दुबैलाई आधार लिने गरिएको रहेछ र त्यसको सुरुवात वडाबाट हुँदो रहेछ । वडाको जनसंख्या र भूगोल परिवर्तन भएपछि स्थानीय तह हुँदै प्रदेश र संघको निर्वाचन क्षेत्रसमेतलाई प्रभाव पार्ने रहेछ । यसरी प्राविधिक रुपमा वडा नम्बर ९ को भवन रहेको स्थानलाई वडा नम्बर ९ नै कायम गर्न सकिएन । वडा नम्बर ८ नै हुने भयो,’ प्रवक्ता पाण्डेले वडापालिकासँग भने । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update