Odapalika - The Fourth Estate - चौथो अंग
उपमेयर चन्दले २२ विद्यार्थीलाई प्राविधिक विषय पढ्न रकम दिने

काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिकाका उपमेयर कौशिला चन्दले २२ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययन गर्न रकम उपलब्ध गराउने घोषणा गरेकी छिन् ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर विजयी भएकी उपमेयर चन्दले नगरपालिकाबाट प्राप्त हुने पारिश्रमिक लगायतको रकमबाट विद्यार्थीलाई अध्ययन गर्ने खर्च व्यहोर्ने घोषणा गरेकी हुन् ।

‘म सामाजिक कार्य गर्नको लागि राजनीतिमा आएकी हुँ, हाम्रो नगरपालिकाभित्र मात्रै होइन, देशभर नै प्राविधिक जनशक्तिको अभाव छ । त्यसैले प्राविधिक विषय अध्ययनको लागि २२ जना विद्यार्थीलाई रकम उपलब्ध गराउने घोषणा गरेकी छु,’ उपमेयर चन्दले वडापालिकासँग भनिन् ।

उनले २२ विद्यार्थीमध्ये १० जना दलित हुनै पर्ने बताइन् । बाँकी १२ जना भने विपन्न परिवारका विद्यार्थीलाई रकम प्रदान गरिने उनले जानकारी दिइन् । उपमेयर चन्दले ती २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँका दरले रकम उलब्ध गराउने जानकारी दिइन् ।

उनले ओभरसियर, पशुप्राविधिक, स्टाफ नर्स, कृषि तथा पशु प्राविधिक, हेल्थ असिस्टेन्ट जस्ता विषय अध्ययनको लागि रकम उपलब्ध गराउने जानकारी दिइन् । यस्ता विषय अध्ययन सकेर फर्कने विद्यार्थीलाई सकेसम्म सोही नगरपालिका क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्ने सोच रहेको उनले बताइन् ।

नगरपालिकाबाट प्राप्त हुने पारिश्रमिक लगायतको रकमले आफ्नो दैनिक जीवनयापन गर्नुपर्ने वाध्यता नरहेको कारण पनि आफूले यस्ता विषय पढाउनको लागि रकम दिन सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘मेरो आफ्नै बाख्रा फर्म छ । अन्य कृषि व्यवसाय पनि छ । त्यसैले दैनिकी चलाउन मलाई गाह्रो छैन । नगरपालिकाबाट आएको रकम दलित, गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक विषय पढ्न उपलब्ध गराउने सोच बनाएकी छु,’ उपमेयर चन्दले थपिन् ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update