Odapalika - The Fourth Estate - चौथो अंग
गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने 

काठमाडौँ । पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने भएको छ । दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन रिजालले जानकारी दिए ।

उनका अनुसार उन्नत जातका गाई वा भैँसी जुनसुकै खरिद गरेर दूध तथा पाडापाडी र बाच्छाबाच्छी उत्पादन गर्नेलाई प्रति गाईभैँसी २० हजार रुपैयाँ अनुदान दिने पालिकाको नीति छ ।

रिजालका अनुसार योसँगै दूध उत्पादन बढाउने र गाउँगाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम छ । लिमे पाराकोटे भैँसी र रैथाने जातका गाईपालन गर्दा कृषकलाई समेत फाइदा नहुने र बाह्रैमास बाह्य जिल्लाबाट दूध तथा दुग्धजन्य वस्तु आयात गर्नुपर्ने अवस्था भएपछि गाउँकार्यपालिकाको बैठकले कृषकलाई अनुदान दिने निर्णय गरेको हो ।

पालिकाभित्र व्यावसायिकरुपमा पशुपालन गर्दै आएका अगुवा कृषक, कृषि फार्म वा कृषि सहकारी संस्था र कृषक समूहले जतिसुकै वटा खरिद गरे पनि संख्याको हिसाबले अनुदान वितरण गरिने उनको भनाइ छ ।     

यस अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्नुका साथै स्वयं कृषक र गाउँपालिका पनि दूध, घ्यु, दहीलगायत दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने तथा बाह्य क्षेत्रमा निर्यात गर्न सकिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङ बताउँछन् । 

अध्यक्ष गुरुङले चालु आवमा यो कार्यक्रमका लागि ६ लाख विनियोजन गरिएको र आगामी वर्षदेखि कृषकको मागका आधारमा बढाउँदै लैजाने बताए ।यस वर्ष ३० वटा उन्नत जातका गाई वा भैँसी खरिद गर्नेलाई २० हजार रुपैयाँका दरले वितरण गरिने उनको भनाइ छ । 

पालिकाले सूचना जारी गर्दै उन्नत गाईभैँसी खरिद गरेबापत कृषकलाई उपलब्ध गराउने अनुदान कार्यक्रम सञ्चालन मापदण्ड २०७७ बमोजिम त्यस्ता पशु खरिद गर्नुपुर्व गाउँपालिकाबाट स्वीकृत लिनुपर्ने जनाएको छ । 

खरिद गरेपछि निवेदन र कृषकको नागरिकता, खरिद गर्नुपूर्व लिइएको सिफारिस, वडाको सिफारिस, कम्तीमा तीनदेखि पाँच वर्ष गाईभैँसी व्यावसायिकरुपमा पाल्ने प्रतिबद्धतापत्र, बीमा पोलिसी तथा खरिद गरेको गाई वा भैँसीको तस्विर उपलब्ध गराएर भुक्तानी लिन सकिने छ ।

यसअघि उक्त पालिकाले काठेगाई अर्थात स्थानीय जातका गाईपालन गर्ने कृषकलाई सुत्केरी भत्तास्वरुप ५ पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । धार्मिक तथा जैविक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय जातका गाई लोप हुन नदिन विगत दुई वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update