Odapalika - The Fourth Estate - चौथो अंग
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु

काठमाडौँ । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका एक वडाध्यक्षले आफ्नो वडाभित्रका सबै विद्यालयहरुलाई पत्र पठाएका छन् । 

विद्यालयहरुले कानुन विपरित शिक्षकलाई कम तलब दिएको गुनासो प्राप्त भएपछि नियम अनुसार तलब दिन वडाध्यक्षले वडाका सबै विद्यालयहरुलाई पत्र पठाएका हुन् ।

यसरी पत्र पठाउने घोराही उपमहानगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाह हुन् । अहिले पनि विद्यालयहरुले शिक्षकहरुलाई मासिक ७ देखि ८ हजार रुपैयाँ मात्रै दिएको आफूले थाहा पाएपछि कानुन अनुसार तलब दिन पत्रचार गरेको उनले बताए ।

‘कानुन अनुसार शिक्षकलाई मासिक १३ हजार ५ सय रुपैयाँभन्दा कम तलब दिन पाइदैन । तर, घोराही उपमहानगरपालिकाभित्रका अधिकांश विद्यालयले मासिक ७ देखि ८ हजार रुपैयाँ तलब दिइरहेका छन् । यो कार्य कानुन विपरितको कार्य हो । तर, म वडाध्यक्ष मात्रै भएकोले सिंगो उपमहानगरपालिकाभित्र भएका कमि कमजोरी सच्याउन सक्दिनँ । तर, मेरो वडामा सक्ने भएको कारण मासिक कम्तिमा पनि १३ हजार ५ सय रुपैयाँ तलब दिनु भनेर पत्र काटेको छु,’ वडाध्यक्ष शाहले वडापालिकासँग भने ।

घोराही उपमहानगरको वडा नम्बर ८ मा एउटा निजी र ४ वटा सामुदायिक विद्यालय छन् । यी सबै विद्यालयहरुलाई पत्र काटेको वडाध्यक्ष शाहले जानकारी दिए । पत्र काटेपछि सोको कार्यान्वयन भए नभएको प्रभावकारी रुपमा अनुगमन गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update